रोकिएका क्याम्पसमा स्ववियु चुनाव गराउन सत्तानिकट विद्यार्थी संगठनको माग – Nepal Press

रोकिएका क्याम्पसमा स्ववियु चुनाव गराउन सत्तानिकट विद्यार्थी संगठनको माग

काठमाडौं । सत्तारुढ गठबन्धननिकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनमा अवैधानिक भर्ना, क्याम्पस प्रशासनको चरम लापरवाही र मनोमानी ढंगवाट चालिएका नियोजित कदमहरूका कारण केही क्याम्पसहरूमा निर्वाचन सम्पन्न हुन नसकेको भन्दै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसनिकट नेविसंघका सभापति दुजाङ शेर्पा, माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र नेकपा एस निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गरेर ध्यानकर्षण जनाएका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा चलिरहेको परिक्षालाई मध्यनजर गर्दै मनोनयन हुन वाकी रहेका त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आगिंक र सम्वन्धनप्राप्त क्याम्पसहरुमा एउटै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसंग संयुक्त विद्यार्थी संगठनहरु जोडदार माग गर्दछौं ।’

बिश्वविद्यालय र क्याम्पसहरूलाई कुनै दल विशेषको इशारामा चलाउने, स्वच्छ र मर्यादितरूपमा स्ववियु निर्वाचन नगराई मनोमानी ढंगले दलगत स्वार्थपूर्तिको लागि निर्वाचनलाई प्रयोग गर्ने गैरजिम्मेवार र अवैधानिक हर्कतको घोर निन्दा गर्दै निष्पक्ष र धाँदलीरहित वातावरणमा निर्वाचनको सुनिश्चितता गर्न माग समेत गरेका छन् ।

‘सहमति र सर्वदलीय बैठकविना एकलौटी तरिकावाट स्ववियु निर्वाचन विथोल्ने मनसायकासाथ कुनै प्रपञ्च रचिन्छ र विद्यार्थीहरुलाई आफ्ना प्रतिनिधि चुन्ने लोकतान्त्रिक अधिकारबाट वाञ्चत गराइन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुद्धारा लोकतान्त्रिक अधिकार प्राप्तिको लागि श्रृजना गरिने संघर्षबाट उत्पन्न परिस्थितिको सामना स्वयं विश्वविद्यालय र क्याम्पस प्रशासनले गर्नुपर्ने विषय समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर