सातै प्रदेशका अध्यक्ष राखेर वरिष्ठ उपाध्यक्ष उमेशलाल समूहको उम्मेदवारी घोषणा – Nepal Press

सातै प्रदेशका अध्यक्ष राखेर वरिष्ठ उपाध्यक्ष उमेशलाल समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सात वटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ ।

सोमबार एक कार्यक्रबीच सात वटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सो समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । सो समूहबाट वस्तुगततर्फ उपाध्यक्ष र १४ सदस्यसहित प्यानल नै उम्मेदवारी घोषणा गरेको छ ।

उम्मेदवारी घोषणा कार्यक्रमममा प्रदेश अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको विकल्प नभएको र सबै प्रदेशले सर्वसम्मत रुपमा समर्थन गर्ने बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेश अध्यक्षहरुले अहिले महासंघको साख गिर्दो अवस्थामा रहेको र अबका दिनमा व्यवसायीका समस्या सरकारमाझ पु¥याउन पनि उमेशलाल जस्तो निडर र प्रस्ट वक्ता आवश्यक रहेको बताएका थिए ।

उक्त उम्मेदवारी घोषणा कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मधेसका निवर्तमान अध्यक्ष गणेश लाठ, बागमतीका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, गण्डकीका अध्यक्ष अमृत भट्टचन, कर्णालीका अध्यक्ष पदमबहादुर शाहीको उपस्थिति थियो । विशेष कारणले लुम्बिनीका अध्यक्ष कृष्ण शर्मा र सुदूर पश्चिमका अध्यक्ष शंकर बोगटी भने उपस्थित हुन नसकेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा आफूहरु अघि बढेको बताए ।

विशेषगरी नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको उनको भनाइ छ । कोरोनापछि बैंकले गरेको लगानीको सही सदुपयोग नहुँदा देशमा उद्योग कलकारखाना धराशायी बन्न पुगेको उनले बताए ।

यस्तै एसोसिएट्तर्फका उपाध्यक्ष भरत आचार्यले अहिले देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका समस्या समाधान गर्न आफूले उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए ।

कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तुगत संघहरुको समस्यालाई नजिकसँग बुझेको भन्दै वस्तुगत संघका समस्या समाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *