जोशीको दाबी- कांग्रेसले कलाविहीन नाटक देखायो, शेरबहादुर देउवाको झुण्डले माफी माग्नुपर्छ – Nepal Press

जोशीको दाबी- कांग्रेसले कलाविहीन नाटक देखायो, शेरबहादुर देउवाको झुण्डले माफी माग्नुपर्छ

काठमाडौं । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकुवा भएको भनेर कांग्रेसले भ्रम छर्ने काम गरेको भन्दै कलाविहीन नाटक बन्द गर्न चेतावनी दिएका छन् । जोशीले वक्तव्य जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालगायतका झुण्डहरूले कार्यकर्तासँग माफी माग्नुपर्ने समेत बताएका छन् ।

तनहुँ १ को उपनिर्वाचनमा प्रभावशाली मानिएका जोशीको समर्थन लिन कांग्रेसले उनीमाथिको कारबाही फिर्ता भएको जनाएको थियो । तर, जोशीले कांग्रेसको आइतबारको निर्णयमा आफ्नो नाम उल्लेख नभएको भन्दै २०७९ अघि भएका निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेकाहरूले माफी माग्नुपर्ने भनेकोमा उल्टै देउवाले माफी माग्नुपर्ने बताएका छन् ।

जोशीले वक्तव्यमा भनेका छन्, ‘२०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा कारबाही फुकुवा गर्ने भन्ने भ्रम छर्ने प्रयत्न गरिएको छ । हेक्का रहोस् हामी नव सामन्तीहरूको दास होइनौँ । बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पुर्‍याउने शेरबहादुर देउवालगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्तासँग माफी माग्नुपर्छ । अनिमात्रै सच्चा कांग्रेसहरूप्रति न्याय हुन्छ ।’

जोशीले नेपाली कांग्रेसले मञ्चन गरेको नाटकमा ‘न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने पात्रहरू नै ।’ भन्दै पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने कांग्रेसका युवा नेताहरूको हैसियत र काम गर्ने क्षमता देख्दा दयाभाव जागेको बताएका छन् ।

कांग्रेसका पूर्वसहमहामन्त्री जोशीले माओवादीसँगको १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटोमा लगेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर