वर्षा अगाडि नै ओत लाग्ने आवासको व्यवस्था गर्न शहरी विकासमन्त्री गुरुङको निर्देशन – Nepal Press

वर्षा अगाडि नै ओत लाग्ने आवासको व्यवस्था गर्न शहरी विकासमन्त्री गुरुङको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले आगलागी लगायत प्रकोप प्रभावित भई घरविहीन बनेका नागरिकलाई वर्षा सुरू हुनुअगावै ओत लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छन् ।

आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रममा सम्बोधन गर्दै उनले विपद् प्रभावित भई घरबिहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिएकी हुन् ।

‘संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हकको रुपमा व्यवस्था गरेको छ । त्यस सम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत छ,’ मन्त्री गुरुङले भनिन्, ‘संविधान र कानूनबमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्‍याउनुस् ।’

विभागले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिअनुसार विपद्का कारण घरबारविहीन भएका परिवारलाई आवासकालागि जस्तापाता र सहुलियत दरको काठ लगायतका सामाग्री खरिदकालागि अनुदान दिने व्यवस्था छ भने विपन्न समुदायलाई घर निर्माणमा अनुदान दिने कार्यक्रम छ । तर त्यस्तो अनुदान कार्यक्रम प्रभावकारी छैन ।

मन्त्री गुरुङले सरकारी लगानीबाट बढीभन्दा बढी परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी छिन् । उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनमा चासो राख्दै बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन केन्द्रको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर