सेनिटरी प्याडको नेपाली उद्योग जोगाउन अर्थमन्त्रीलाई सांसद शाहीको ध्यानाकर्षण – Nepal Press

सेनिटरी प्याडको नेपाली उद्योग जोगाउन अर्थमन्त्रीलाई सांसद शाहीको ध्यानाकर्षण

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विदेशबाट आयातित सामानमा भन्सार शुल्क बढाउन सरकारसमक्ष आग्रह गरेका छन् । उनले भन्सार शुल्क बढाए स्वदेशी उत्पादनले बजार पाउने र नेपालीले रोजगारी पाउने बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१६ जुडा, मधवलियास्थित एजी हेल्थ इण्डष्ट्रिज प्रालिको अवलोकन तथा निरीक्षण गर्दै प्रतिनिधिसभा सदस्य शाहीले सेनेटरी प्याड र बेबी डायपरमा नेपाल आत्मनिर्भर भएकाले यसमा भन्सार शुल्क बढाउनुपर्ने बताए ।

उनले भने, ‘युवालाई देशमै रोजगारी दिन केही काम गर्नुस्, अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध छ । यसलाई रचनात्मक सहयोग भन्दा पनि हुन्छ ।’

उनले युवा तथा खेलाडीहरू विदेश पलायन भइरहेको र मुलुकको अर्थव्यवस्था कमजोर तथा वैदेशिक ऋण बढ्दो अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरे । सांसद शाहीले विदेशबाट आयातित सामानमा भन्सार शुल्क बढाउँदा सरकारको राजस्व पनि बढ्ने र स्वदेशी उद्योगबाट उत्पादित सामानले बजार पाउने बताए ।

शाहीले भने, ‘सेनेटरी प्याडमा हामी आत्मनिर्भर छौं, केही माफियाहरूले विदेशबाट सेनेटरी प्याड आयात गर्नका लागि चलखेल गरे । जुन सामान नेपालमा उत्पादन हुन्छ, त्यसमा भन्सार शुल्क बढाउनुपर्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नैपर्छ ।’

भारतलगायतका देशमा सेनेटरी प्याड ठूलो मात्रामा उत्पादन हुने भएकाले त्यहाँ उत्पादित सामान सस्तो पर्न गएकोले भन्सार शुल्क बढाए नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न सक्ने शाहीको भनाई छ ।

नेपाल सेनेटरी प्याड तथा बेबी डायपर उत्पादक संघका केन्द्रीय अध्यक्ष डोलप्रसाद अधिकारीले अरबौं लगानी रहेको सेनेटरी प्याड तथा बेबी डायपर उद्योगमा हजारौं रोजगारी गुम्ने अवस्था रहेको बताए ।

उनले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा १५ प्रतिशत भन्सार शुल्कलाई १.५ प्रतिशत गरिँदा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

शाहीले भने, ‘१८-२० घण्टा चल्नुपर्ने उद्योग अहिले ५–६ घण्टा मात्र चलिरहेको छ ।’

नेपालमा रहेका ३५ वटा सेनेटरी प्याड उद्योगमा ६ अर्बको लगानी रहेको र ५ हजार बढीले रोजगारी पाएको अधिकारीले जानकारी दिए ।

एजी हेल्थ इण्डष्ट्रिज प्रालिका अध्यक्ष तिलक प्रसाद अधिकारीले नेपालमा सेनेटरी प्याड र डायपर उद्योगको ठूलो बजार रहेको बताए । उनले नेपालका उद्योगलाई धरासायी बनाउने खेल भइरहेको बताए ।

उनले भने, ‘नेपालका उद्योगले प्रयाप्त मात्रामा गुणस्तरीय सामान उत्पादन गरिरहेका छन् । तर, राज्यको सही किसिमको नीति नहुँदा उद्योग धरासायी हुँदै गएका छन् ।’

एजी हेल्थ इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक गंगाधर अधिकारीले ७ वटा देशबाट उद्योगमा कच्चा पदार्थ आउने गरेको बताए । उनले २ विगाहा क्षेत्रफलमा रहेको एजी हेल्थ इण्डष्ट्रिजमा २ अर्ब लगानी रहेको जानकारी दिए ।

यहाँ नेपाली प्राविधिक कार्यरत छन् । प्रतिमिनेट ४०० पिस डायपर र प्रतिमिनेट ६०० पिस सेनेटरी प्याड उद्योगमा उत्पादन हुँदै आएको उनले जानकारी दिए । २०७७/०७८ मा ५ करोड बराबरको सामान भारत निर्यात गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *