तनहुँ १ : मंसिरमा चौथो भएको रास्वपाले वैशाखमा बजाउला त घण्टी ? – Nepal Press

तनहुँ १ : मंसिरमा चौथो भएको रास्वपाले वैशाखमा बजाउला त घण्टी ?

पोखरा । अर्थविद् डा. स्वर्णिम वाग्ले पहिलो पटक संसदीय राजनीतिको मैदानमा छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका डा. वाग्ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ १ मा हुने उपनिर्वाचनमा चुनावी दौडमा पुगेका हुन् ।

नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेकै दिन अर्थविद् डा. वाग्लेले कांग्रेस परित्याग गरेर रास्वपा रोजेका थिए । गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा वैशाख १० मा हुने उपनिर्वाचनमा रास्वपाबाट अर्थविद् वाग्ले उम्मेदवार बन्न लागेका हुन् ।

अर्थविद् वाग्ले गत मंसिरमा भएको निर्वाचनबाट एकाएक उदाएको रास्वपाबाट उम्मेदवार बन्न लागेसँगै तनहुँ १ को चुनावी माहौल तातिएको छ । उक्त क्षेत्रमा चोथौँ भएको रास्वपा यसपालि भने जित्नेमा ढुक्क देखिन्छ ।

वैशाखमा रास्वपाले बजाउला त घण्टी ?

अघिल्लो पटक रास्वपाबाट उम्मेदवार बनेर चौथो भएको रास्वपा तनहुँ संयोजक विकास सिग्देल यसपालि तनहुँ १ बाट रास्वपाका वाग्ले रास्वपाले जित्नेमा ढुक्क देखिन्छन् ।

उनी भन्छन्, ‘अघिल्लो पटक बेस बसेको थिएन, पर्ख र हेरको अवस्था थियो नि त, यसपालि भने हाम्रो बेस बसेको छ । तनहुँ १ का जनताले रास्वपाका उम्मेदवारलाई जिताउँछन् भन्नेमा म ढुक्क छु ।’

रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । तनहुँ १ बाट निर्वाचित भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत प्राप्त गरेका थिए । एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्द्रराज जोशीले ६ हजार ८ सय ८६, राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ ल्याएका थिए ।

विश्वले चिनेको, बुझेको उम्मेदवार भएकाले तनहुँमा रास्वपाको उम्मेदवार विजयी हुने जिल्ला संयोजक सिग्देलले दाबी गरे ।

‘अघिल्लो निर्वाचनमा उम्मेदवार चिनिएका थिएनौँ, पार्टीलाई विश्वास थिएन, अहिले पार्टीलाई पनि जनताले चिनेका छन्, उम्मेदवार पनि विश्वले चिनेको, बुझेको व्यक्ति हुनुहुन्छ । त्यसैले तनहुँमा हाम्रो जित सुनिश्चित छ,’ उनले भने ।

यसपालि भने रास्वपाका उम्मेदवार सक्षम भएकाले जनताले पार्टी भन्दापनि व्यक्ति हेरेर मत दिने संयोजक सिग्देल विश्वास व्यक्त गरे ।

‘उम्मेदवार स्वर्णिम वाग्ले अर्थविद् नै हो, व्यक्ति विशेष चाहिँ तनहुँले यत्तिको व्यक्तिलाई न्याय दिनुपर्छ, यत्तिको मान्छेलाई हराउनु हुन्न भन्ने नै जितको मुख्य आधार हो जस्तो लाग्छ मलाई,’ सिग्देलले भने ।

मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रमा समानुपातिकतर्फ रास्वपा तेस्रो भएको थियो । रास्वपाले १२ हजार ७ सय ७३ मत प्राप्त गरेको थियो । २० हजार १ सय ५८ मत प्राप्त गरेको नेपाली कांग्रेस पहिलो, १६ हजार ६ सय ८३ मत प्राप्त गर्दै नेकपा एमालेले दोस्रो भएको थियो ।

समानुपातिकतर्फ माओवादी केन्द्रले ७ हजार ३ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ५ सय ७७ र नेकपा एकीकृत समाजवादी ९ सय ५० मत प्राप्त गरेका थिए ।

गण्डकी प्रदेश कमिटीका सभापति राजन गौतम तनहुँका जनताको चेतनास्तर राम्रो भएकाले रास्वपाका उम्मेदवारलाई भोट दिनेमा ढुक्क रहेको बताउँछन् ।

‘उम्मेदवार जान्नेलाई छान्ने भन्ने हाम्रो पोलिसि हो, अन्तर्राष्ट्रिय व्यक्तित्व, जनताले पनि देखिसकेको व्यक्तिलाई उम्मेदवार बनाएका छौँ, तनहुँ भनेको राजनीतिक रूपमा धेरै बुझेको क्षेत्र हो भन्ने बुझाइ छ,’ उनी भन्छन्, ‘तनहुँका जनताले रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउँछन् भन्नेमा म ढुक्क छु ।’

तनहुँमा संगठन विस्तार बनाउँदै अगाडि बढेको प्रदेश सभापति गौतमले बताए । ‘संगठन विस्तार भएका ठाउँमा एक्टिभ बनाउने, नभएका ठाउँमा संगठन विस्तार गर्ने गरी अगाडि बढेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर