दोस्रो जनआन्दोलनपछि धरान क्षेत्रबाट चुनाव जितेर पहिलो मन्त्री बने अशोक राई – Nepal Press

दोस्रो जनआन्दोलनपछि धरान क्षेत्रबाट चुनाव जितेर पहिलो मन्त्री बने अशोक राई

काठमाडौं । दोस्रो जनआन्दोलनपछि धरान र आसापासको सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव जितेर मन्त्री बन्ने पहिलो व्यक्ति अशोक राई बनेका छन् । यस अगाडि धरान र आसपासका क्षेत्रहरुबाट दोस्रो जनआन्दोलनपछि प्रत्यक्ष सांसदको रुपमा संसदमा गएका किरण राई, कृष्णकुमार राई र जयकुमार राई मन्त्री बनेका थिएनन् । कृष्णकुमार राई भने पञ्चायत कालमा मन्त्री भएका थिए ।

२०३८ सालदेखि जनआन्दोलनसम्म अशोक राई धरान केन्द्रित संगठनमा खटिएका थिए । २०७४ सालको चुनावमा उनी एमालेका उम्मेदवार तथा आफ्ना पूर्वकार्यकर्ता जयकुमार राईसँग २२ हजारको भारी मतान्तरले हारेका थिए । दोस्रो पटकको प्रयासमा भने उनी धरान र आसपासको क्षेत्र समेटिएको सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव जित्न सफल भए । १७ हजार ५९ मत ल्याएर चुनाव जितेका राईका निकटतम प्रतिस्पर्धीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ थिइन् । तामाङको मत १६ हजार ६०६ आएको थियो ।

चुनावीसभामा प्रचण्डले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिइएका गठबन्धनका माओवादी उम्मेदवार मुक्सामहाङ सुब्बाको मत भने १३ हजार ८७ आएको थियो ।

सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वटा पर्छन् भने बराहक्षेत्र नगरपालिकाका १, २, ३, ४ र ५ वडा तथा रामधुनी नगरपालिकाका ६ र ७ वडा पर्छन् ।

अशोक राईको मन्त्रिमण्डल अनुभव : कम्युनिष्ट, पञ्चदेखि कांग्रेससम्म

अशोक राईले पूर्वपञ्च लोकेन्द्रबहादुर चन्द्र, नेपाली कांग्रेसका नेता शेरबकहादुर देउवादेखि कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, प्रचण्डसम्मको मन्त्रिमण्डलमा सहभागी हुने मौका पाएका छन् । अधिकारी, चन्द र देउवा सरकारमा एमाले नेताको रुपमा मन्त्री बनेका राई यो पटकमा जनता समाजवादी पार्टीको नेताको रुपमा सहभागी भएका छन् । तर, चुनावमा भने उनले नेकपा एमालेसँग तालमेल गरेर विजयी भएका थिए ।

राई पहिलो पटक नेपालको पहिलो कम्युनिष्ट सरकारमा सहभागी भएका थिए । मनमोहन अधिकारी नेतृत्वको नेपालको पहिलो कम्युनिष्ट सरकारमा राई यातायात राज्यमन्त्री भएका थिए । दोस्रोपटक राईले संसदीय व्यवस्था राज्यमन्त्री बन्ने मौका पाए । २०५३ सालको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी राज्यमन्त्री भएका थिए । राईले पहिलोपटक पूर्ण मन्त्री हुने मौका भने २०६१ सालमा पाएका थिए । माधव नेपाल नेतृत्वको तत्कालीन नेकपा एमालेले शेरबहादुर देउवा क्याबिनेटमा ‘प्रतिगमन आधा सच्चियो’ भनेर पुग्दा अशोक राई मन्त्री भएका थिए । देउवा क्याबिनेटमा उनी स्वास्थ्यमन्त्री भएका थिए ।

यसअघि धरानबाट को को भए मन्त्री ?

धरानका अशोक राईभन्दा अगाडि चार जना मन्त्री भएका छन् । पहिलोपटक धरानका मन्त्री भएका अनुहार हुन् कुलबहादुर लिम्बू । उनी २०१४ सालमा डाक्टर कआई सिंहको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री भएका थिए । धरानबाट पटकपटक पञ्चायतमा मन्त्री हुने दोस्रो अनुहार हीरालाल विश्वकर्मा हुन् । तेस्रोपटक मन्त्री हुने अनुहार कृष्णकुमार राई हुन् । मरिचमान सिंहको क्याबिनेटमा उनी मन्त्री भएका थिए । धरानका मन्त्री हुने चौथो अनुहार हुन् मीन विश्वकर्मा । उनी देउवा सरकारमा मन्त्री भएका थिए ।

‘धरानले अहिलेसम्म चार मन्त्रीमात्रै पाएको छ’, धरानको इतिहासमा काम गरेका हरेराम कर्माचार्यले नेपाल प्रेससँग भने, ‘अशोक राई धरानका होइनन् । तर, धरानबाटै चुनाव जितेर मन्त्री भएका हुन् । उनीसहित धरानसँग जोडिएर मन्त्री हुनेको संख्या पाँच भन्न सकिन्छ ।’

आज शिक्षामन्त्री भएसँगै अशोक राईले राजनीतिमा सक्रिय रुपमा आएको ४६ वर्षपछि चौथो पटक मन्त्री हुन पाएका छन् । राईले २०३३ सालमा अमृत बोहोराको हातबाट तत्कालीन कोअर्डिनेसन केन्द्रबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

प्रदेश १ को कोशी करिडोर क्षेत्रमा धरान धार्मिक, आर्थिक र राजनीति विरासत बोकेको शहर हो । विराटनगरपछिको पूर्वी तराईको जेठो नगरपालिका धरानै हो । सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म जन्माएको छ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले पनि पहिलोपटक संसद हुँदा २०४८ सालको चुनावमा सुनसरी १ को धरान क्षेत्रबाट जितेका थिए । प्रधानमन्त्री हुँदा भने अधिकारीले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर