बारा २ को उपचुनावमा एमालेबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउन स्थानीय नेताको आग्रह – Nepal Press

बारा २ को उपचुनावमा एमालेबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउन स्थानीय नेताको आग्रह

वीरगञ्ज । बारा २ को उपचुनावमा नेकपा एमालेबाट पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउन स्थानीय नेताहरूले शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।

साबिक क्षेत्र नम्बर ३ बाट जितेका थिए । पछिल्लो पटक उनी क्षेत्र नम्बर १ मा दाबेदार रहे पनि अच्युत मैनालीले टिकट पाएका कारण चुनाव लड्न पाएनन् । दक्षिण क्षेत्रमा परिचित र मधेसी समुदायले मन पराउने नेता भएका कारण पौडेललाई उम्मेदवार बनाएर परिणाम निकाल्न सकिने स्थानीय नेताहरूको भनाइ छ ।

मिसन ग्रासरुटको अभियानमा बारा पुगेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव तथा मधेस इन्चार्ज रघुवीर महासेठलगायतका नेतासँग सो क्षेत्रका नेताहरुले पौडेललाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।
प्रदेश कमिटी सदस्यहरू राजेश साह, कौशल सिंह, धनीराम चौधरी, दशरथ रामलगायतले पौडेलको नाम सुझाएका छन् । सो क्षेत्रबाट एमालेको बलियो उम्मेदवार छैनन् । माओवादी नेता शिवचन्द्र कुशवाहले एमालेले टिकट दिए पार्टी प्रवेश गर्ने बताएका छन् ।

पौडेल आफैं उम्मेदवारीका लागि इच्छुक नभए पनि कार्यकर्ताले दबाब दिइरहेको स्थानीय नेताहरुको भनाइ छ । सो क्षेत्रमा करीव ४ हजार पहाडे समुदायको मत छ । पौडेल मधेसी समुदायमा लोकप्रिय मानिन्छन् ।

सो क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८ सहित सुवर्ण गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता र करैयामाई गाउँपालिका पर्छन् । यीमध्ये पचरौतामा एमालेले जितेको छ भने करैयामाईमा झिनो मतले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर