दलका नेता र प्रधानमन्त्रीका आसेपासेले प्रदेशलाई अधिकार दिन कञ्जुस्याइँ गरे: सभामुख गौतम
विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दलका नेता र प्रधानमन्त्रीका आसेपासेहरुले प्रदेशलाई अधिकार दिन कञ्जुस्याइँ गरेको बताएका छन् । यो वा त्यो भन्ने भन्दा पनि संघ र केन्द्रमा रहेका सबै प्रदेशको अधिकार कटौतीमा लागेको उनको भनाइ थियो ।
विराटनगरमा आइतबार भएको एक अन्तरक्रियामा उनले प्रदेशहरू स्वायत्त छन् कि छैनन् भन्ने बहसको विषय भएको बताए ।
सभामुख गौतमले संघले अधिकार नदिएको विषयमा अब कुरा उठाइने औंल्याए । ‘हामी संस्थागत कुरा उठाउने तयारीमा छौं’, उनले भने, ‘संघले अधिकार नदिने अनि प्रदेशको काम छैन भन्ने ? जिल्लामा भएका विकासे कार्यालय किन संघ मातहतमा हुनुपर्ने ?’
एउटै प्रकृतिका कार्यालय संघ र प्रदेशका छुट्टाछुट्टै हुँदा कर्मचारी र बजेटको अभावमा काम हुन नसकेको उनको भनाइ छ ।
प्रदेश ल्याए भनेर हल्ला गरेको तर अधिकार नदिएकाले समस्या भएको बताउँदै सभामुख गौतमले आर्थिक र राजनीतिक अधिकारको बाँडफाँट गरिनुपर्नेमा जोड दिए ।