माओवादीले समर्थन फिर्ता लिएपछि कांग्रेसले भन्यो- मुख्यमन्त्रीले राजीनामा दिनु नै प्रदेशको हितमा हुन्छ – Nepal Press

माओवादीले समर्थन फिर्ता लिएपछि कांग्रेसले भन्यो- मुख्यमन्त्रीले राजीनामा दिनु नै प्रदेशको हितमा हुन्छ

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिन माग गरेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्टै गण्डकीका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अल्पमतमा परेकाले जतिसक्दो छिटो मार्ग प्रशस्त गर्नु नै प्रदेशको हित हुने बताएका हुन् ।

‘सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’ नेता पाण्डेले भने ।

नेता पाण्डेले कामचलाउ सरकारले गर्ने दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्ति, सरुवा बढुवाका कामको दायित्व नयाँ सरकाले नलिने जनाए । ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्ति, सरुवा बढुवा लगायतको काम गर्नु न्याय संगत मानिँदैन,’ उनले भने, ‘यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतका दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने जानकारी गराउँदछु ।’

अबको गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने संसदीय नेता पाण्डेले दाबी गरे । ‘यो गठबन्धनमा रहनुभएको दलहरूको बिचमा छलफल हुने क्रममा यो गठबन्धनको दलमा रहेका दलहरूले नेतृत्व गरेको प्रदेशमा यथावत् राखेर एमालेले नेतृत्व गरेको जुन जुन प्रदेश छ, त्यसमा बाँकी दलहरूले नेतृत्व लिएर अगाडि बढ्ने खालको सहमति अगाडि बढिराखेकै छ,’ उनले भने, ‘आन्तरिक सहमति पनि त्यहीँ किसिमले अगाडि बढेको छ । त्यसको गण्डकी प्रदेशको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने प्राय निश्चित छ ।’

गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएसँगै अब मुख्यमन्त्री अधिकारीलाई दुई विकल्प छन् । हिजोको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर