आईजीपीको रेसमा पहिलोपटक महिला अधिकृत – Nepal Press

आईजीपीको रेसमा पहिलोपटक महिला अधिकृत

काठमाडौं । नेपाल प्रहरीले शुक्रबारदेखि ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) पाउँदैछ । र, पहिलो पटक संगठन प्रमुखको रेसको सूचीमा महिला अधिकृत छन् । एआईजीको फुली लगाएको तीन दिनमै आईजीपी बन्ने दौडमा रहेका ५ जनामध्ये उनी हुन्- किरण बज्राचार्य ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बज्राचार्यसहित वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवालीलाई एआईजीमा बढुवा गरेको हो ।

प्रहरी नियमावली अनुसार एआईजी र एआईजी नभएको अवस्थामा डीआईजीबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामर्थ्यको आधारमा उपयुक्त उम्मेदवारलाई आईजीपी बढुवा गर्ने व्यवस्था छ ।

को हुन् किरण ?

पाल्पाको तानसेनमा हुर्केकी उनी ड्युटीमा खटिएका प्रहरी देखेर यो संगठनमा छिर्ने इच्छा जागेको बताउँछिन् ।

‘त्यहाँका दुई महिला प्रहरीको पहिरन सधैँ सारी हुन्थ्यो । तर, पुरुष प्रहरी भने शर्ट, पाइन्ट र टोपी लगाएका देखिन्थे’, उनी सुनाउँछिन् ।

पेसा एउटै, जिम्मेवारी एउटै तर लिंगकै आधारमा पोसाक किन फरक भन्ने प्रश्न उब्जिएर प्रहरी बन्ने इच्छा जागेसँगै शर्टपाइन्ट लगाउने प्रहरी बन्ने हुटहुटी जागेको उनले बताइन् ।

महिला भएकै कारणले होला, वरपर उनलाई कमजोर ठान्नेको अभाव थिएन । दया र मायाको दृष्टिकोणले हेर्नेको पनि कमी थिएन । तर, उनले सधैँ डटेर सामना गरिन् । महिला भएकै कारण आफूलाई म पुरुष भन्दा कम छैन भन्ने पुष्टि गर्नका लागि सधैँ पुरुष सहकर्मीले भन्दा बढी मेहनत गरेको उनी बताउँछिन् ।

पुरुष सहकर्मी र उनीहरूको शौचालय र लुगा फेर्ने ठाउँसमेत एउटै हुन्थ्यो । सुन्दा साना लाग्ने पनि ठूला समस्याका सामना गर्नुपरेको किरणको भोगाई छ ।

आफूभन्दा कम योग्यता भएका र पछि आएका पुरुष सहकर्मीले अवसर वा महत्वपुर्ण जिम्मेवारी पाउँदा उनले पनि अन्तर्राष्ट्रिय मिसनमा गएर, जिम्मेवारी कुशलतापूर्वक निभाएर, अन्तर्राष्ट्रिय तहमा पुरस्कृत भएर अब्बल साबित गरिन् ।

किरण २०५१ चैतमा इन्सपेक्टरमा नियुक्त भईन् । त्यसबेलासम्म महिला पदपूर्ति पनि खुला प्रतिस्पर्धाबाटै हुने गरेको थियो । पछि सुरक्षा निकायलाई पनि समावेशी बनाउने माग बढेपछि कानून संशोधन गरेर भर्नामा समावेशी कोटा छुट्याउन थालियो ।

महिला प्रहरी थोरै भएकै बेला त्यसताका उनीसँगै ४ महिला- किरण राणा, मीरा चौधरी, र दुर्गा सिंह इन्सपेक्टरको रूपमा संगठन प्रवेश गरेका थिए । उनीहरू सबै एकैलटमा डीआईजी बने । एआईजी बढुवामा भने किरणले बाँकी ३ जनालाई उछिनेकी छन् । एक वर्षअघि प्रहरी उच्च ओहदामा यसरी एकैसाथ चार महिला पुगेकोमा तारिफ भएको थियो ।

‘यस पेसामा अवसर छ, पहिचान छ, महिलालाई पनि सम्मानजनक ठाउँ छ भन्ने सन्देश प्रवाह भएको छ ’, बज्राचार्यले भनिन् ।

किरण बज्राचार्य खेलकुद पृष्ठभूमिकी हुन् । बज्राचार्यसहित डीआई मीरा चौधरी र किरण राणा तीनैजना राष्ट्रिय फुटबल खेलाडी थिए । उनी चाहिँ ब्याडमिन्टनकी खेलाडी पनि हुन् । खेलकुदकै कारण आफूमा शारीरिक क्षमता र ‘हक्की’ स्वाभाव विकास भएको उनी सुनाउँछिन् ।

उनीसँग ट्राफिक प्रहरी कार्यालय, अपराध महाशाखादेखि जिल्ला प्रहरी प्रमुख र प्रहरी शिक्षालयसम्म काम गरेको अनुभव छ । एसपी हुँदा जिल्ला प्रहरी परिसर भक्तपुर र एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख पनि बनिन् उनी ।

‘हाम्रो जिम्मेवारी शान्ति, सुरक्षा र अपराध नियन्त्रणका लागि खट्ने हो । जसले प्रत्यक्ष आममानिससँग जोड्यो । ती मानिसलाई सुरक्षा प्रत्याभूत गराउँदा उनीहरूबाटै धेरै सिक्ने मौका मिल्यो । पहिले खेलाडीको रूपमा देशको प्रतिनिधित्व गरेर खेलेकी उनी हाल आफू देशका समग्र महिलालाई गौरब महसुस गराउन लागिरहेकी छु’, रहेको बताउँछिन् ।

सीआईबीमा कार्यरत छँदा संगठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको कारण सन् २०१६ मा ‘टीआईपी रिपोर्ट हिरो’ मा मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित भएकी थिइन् । पछिल्लो समय कार्यसम्पादन मूल्यांकनमा किरण पाँचौ नम्बरमा थिइन् । उनी वागमती प्रमुख हुँदा उत्कृष्ट प्रदेश प्रहरी प्रमुखको रूपमा पुरस्कृतसमेत भइन् ।

नेपाल प्रहरीमा एआईजीपीमा पुग्ने तेस्रो महिला हुन् किरण बज्राचार्य हुन् । यसअघि पहिलो पटक प्राविधिकतर्फ डा. आशा सिंह र प्रशासनतर्फ पूजा सिंह एआईजी बनेकी थिए । सिंह अनिवार्य अवकाशमा गइसकेकी छन् ।

नेपाल प्रहरीमा ११ प्रतिशतमात्रै महिला

हाल ७७ हजार ९ सय प्रहरीमध्ये नेपाल प्रहरीमा ८ हजार ९ सय ६७ अर्थात साढे ११ प्रतिशतमात्रै महिला छन् । एआईजीपीमा २ जना महिला छन् । जसमा एकजना प्राविधिकतर्फ डा. आशा सिंह र प्रशासनतर्फ बज्राचार्य नै हुन् । डीआईजीमा मीरा चौधरी, किरण राणा र दुर्गा सिंह छन् । एसएसपीमा ४ जना, एसपीमा ८ जना, डीएसपीमा ३१ जना, इन्सपेक्टरमा १४६ जना छन् ।

वरिष्ठ सईमा ११३, सईमा २१६, असईमा ५५२, वरिष्ठ हवल्दारमा १८४, प्रहरी हवल्दारमा ९६३, प्रहरी सहायक हवल्दारमा १ हजार ५८६, जवानमा ४ हजार ६५२ जना र प्रहरी कार्यालय सहयोगीमा ५०६ जना महिला कार्यरत छन् ।

नेपाल प्रहरीको औपचारिक स्थापनाको इतिहास धेरै लामो छैन् । वि.सं. २०१२ मा प्रहरी ऐन जारी भएको मितिलाई आधार मानेर प्रहरी दिवस मनाइन्छ । त्यसअघि २००८ सालमै नेपाल प्रहरीमा जागिर खाएकी काठमाडौंकी चैतमाया डङ्गोल नेपालको प्रथम महिला प्रहरीको रूपमा चिनिन्छिन् । ८७ वर्षीया उनले सुरक्षा निकायमा ३२ वर्ष बिताएकी छन् ।

नेपाल प्रहरीमा हालसम्म २९ जना आईजीपी भइसकेका छन् । जसमा एकजना पनि महिला परेका छैनन् । एउटी महिला आईजीपी भए विश्वमा नै नेपाल प्रहरीकै नाम उँचो हुने राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा बताउँछिन् ।

उनी भन्छिन्, ‘यसले देशका ५१ प्रतिशत महिलालाई पनि प्रोत्साहन मिल्नेछ । सधैं भाषणमा मात्र सीमित राखिने लैंगिक समानताको सवाललाई व्यवहारमा उतार्ने बेला आएको छ ।’

प्रतिक्रिया

One thought on “आईजीपीको रेसमा पहिलोपटक महिला अधिकृत

  1. मेरो पुरापुर समर्थन छ आइरन लेडि पुलिस म्यान तपाईं प्रहरी प्रमुख भएको हेर्ने मन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *