थ्रीस्टारलाई रोक्दै तिलोत्तमा गोल्डकपको फाइनलमा पुग्यो सुदूरपश्चिम ११ – Nepal Press

थ्रीस्टारलाई रोक्दै तिलोत्तमा गोल्डकपको फाइनलमा पुग्यो सुदूरपश्चिम ११

रुपन्देही । रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै सुदूरपश्चिम ११ ले आफ्नो फाइनल स्थान पक्का गरेको छ ।

बुधबार भएको सेमिफाइनल खेलमा थ्रीस्टार क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम ११ ले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको ८६औं मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले गोल गरेर आफ्नो टीमलाई जिताएका थिए ।

बिहीबार मनाङ मस्र्याङदी र फ्रेण्डस क्लबीच अर्को सेमिफाइनल खेल हुनेछ । सुदूरपश्चिम ११ ले यी दुई बीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार नगद पुरस्कार पाउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर