मध्यपहाडी राजमार्गको कास्की खण्ड रेखांकन विवाद चुलिँदै – Nepal Press

मध्यपहाडी राजमार्गको कास्की खण्ड रेखांकन विवाद चुलिँदै

पोखरा । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको रेखांकनको विवाद नयाँ होइन । पोखरा महानगरपालिका- २५ याम्दी जौबारी पुलदेखि मादी गाउँपालिकाको भैंसेसम्मको राजमार्ग खण्डको रेखांकन निश्चित नहुँदा लामो समयदेखि काम हुन सकेको छैन । रेखांकन विवाद समाधान भएको भन्दै उक्त खण्डको टेन्डरसमेत भएको थियो । जसअनुसार काम थालेको एक महिना नहुँदै पुनः विवाद सुरु भएको छ ।

स्थानीयले आफूहरूसँग छलफल नै नगरी रुट टुंग्याइ काम सुरु गरेको भन्दै विरोध जनाएका छन् । विरोधकै कारण विवादित करिब ५०० मिटर सडक निर्माण रोकिएको छ । पोखरा- १६ मा पर्ने कालीखोलादेखि बाटुलेचौरसम्म ५०० मिटर खण्ड वरिपरिका स्थानीय असन्तुष्ट हुँदै विरोधमा उत्रिएका हुन् ।

मध्यपहाडी लोकमार्गको कास्कीलगायत खण्ड हेर्ने योजना कार्यालय पर्वतमा छ । ‘तपाईंहरुको विवाद समाधान नभएसम्म काम गर्दिनँ भनेर पत्र लेखेर स्थानीयलाई पठाएको छु’, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले भने, ‘भैंसेतिरको काम भइरहेको छ ।’

त्यसो त विवादका कारण मध्यपहाडी लोकमार्ग निर्माण सुरु भएको १३ वर्षसम्म कास्की खण्डमा रुट टुंगिएको छैन ।

गण्डकी प्रदेशसभाका तत्कालीन सदस्य मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जीसी, मादी गाउँपालिकाका तत्कालीन अध्यक्ष वेदबहादुर गुरुङ र वडा अध्यक्षहरूसहित २०७७ फागुन ८ गते बसेको बैठकले भैंसेदेखि याम्दी पुलसम्मको सडक पोखराका वडा नम्बर १३, १२, ११ र १६ हुँदै लैजाँदा संरचना ध्वस्त हुने र धेरै नागरिकहरु घरविहीन हुन सक्ने भन्दै पुनः नक्सांकन गर्न भौतिक तथा यातायात मन्त्रालयलाई अनुरोध गरेको थियो ।

बैठकले वैकल्पिक रेखांकनस्वरुप भैंसेदेखि उत्तर बेतेनी, ज्याम्दुपुलदेखि साविक सिल्दजुरे हुँदै मेलबोट, गिउजेखोला हुँदै अर्मला आँटीघर, अर्मलाकोट, अर्मलाटारी, र्‍याले हुँदै महेन्द्रगुफा-लामाचौर सोझ्याएर याम्दी निकाल्ने गरी नक्सांकन/रेखांकन गर्न सिफारिस गरेको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन २६ को बैठकले सोही विस्तृत परियोजना प्रतिवेदनलाई आधार मान्दै भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको ३५ दशमलव ५ किलोमिटर सडक रेखांकन पास गरेको थियो । त्यसयता बाटुलेचौर खण्डमा विरोध हुँदा काम अगाडि बढ्न सकेन ।

२०७८ को जेठमा पोखरा महानगरपालिका- १६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले सडक रेखांकनको विषयमा जग्गामा कुनै विवाद नरहेको, कुनै मुआब्जा दिनु नपर्ने, क्षतिपूर्तिसमेत न्यून हुने भन्दै राजमार्ग निर्माण अगाडि बढाउन पुष्पलाल राजमार्ग सडक योजना कार्यालय पवर्तलाई सिफारिस लेखेका थिए । २०७८ मंसिर ७ गते फेरि तत्कालीन वडाध्यक्ष आचार्यले अर्मलाकोटदेखि जौबारी पुलसम्म जाने बाटोको सम्भाव्यता अध्ययन गरिसकेको भनी सिफारिस लेखे ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना नामकरण भई मादी गाउँपालिका भैंसे-ज्याम्दु-मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कार्लाखोलापुल, महेन्द्र गुफा-चमेरे गुफा, बिसौनी-लामाचौर, जौबारी-याम्दी पुलसम्म गत २०७९ भदौ १४ गते आयोजनाको टेन्डर प्रकाशित भएको थियो । त्यसपछि स्थानीय, वडा कार्यालयदेखि महानगरपालिकासम्मले टेन्डर प्रक्रिया स्थगित गर्न पत्र पठाए ।

वडा नम्बर १६ र १९ ले उक्त रेखांकनले महेन्द्रगुफा, चमेरेगुफा जस्ता पर्यटकीय सम्पदा तथा व्यक्तिका भौतिक संरचनाहरुमा दुरगामी असर पर्ने भएकाले उक्त रेखांकन परिवर्तन गरी अन्य वैकल्पिक मार्गको खोजी गर्न सिफारिस गर्न पोखरा महानगरपालिका र पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतलाई पत्र पठाए ।

पोखरा महानगरपालिकाले राजमार्गको विकल्प खोजी गर्नुपर्ने भएको हुँदा सोसम्बन्धी कार्य पूरा नभएसम्म हाललाई उक्त खण्डको सडक रेखांकन तथा टेन्डर प्रक्रिया स्थगन गर्न पुस ७ गते पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतलाई पत्र पठाएको थियो ।

राजमार्ग आयोजना कार्यालयले स्वच्छन्द एपेक्स जेभीलाई ३५ दशमलव ५ किलोमिटर खण्डको निर्माण गर्न ३ अर्ब ४२ करोड रुपैयाँमा ३ वर्षभित्र सक्ने गरी जिम्मा दिएको छ । जिम्मा पाएर काम सुरु भएको करिब एक महिनामै विवाद भएपछि निर्माण रोकिएको छ ।

पहिलाको रेखांकनअनुसार भैंसेदेखि पोखराका वडा नम्बर १३, १२, ११, १६ र १९ हुँदै याम्दीसम्म सडक निर्माण गर्दा ८ सयभन्दा बढी घर भत्काउनुपर्ने हुन्थ्यो । मध्य पहाडी लोकमार्ग आयोजनामा सडक निर्माण गर्दा मुआब्जा दिने सरकारी नीति छैन । तसर्थ भैंसेदेखि मौजा, अर्मला हुँदै बाटुलेचौरबाट लामोचौर, याम्दी निकाल्ने गरी रेखांकन परिवर्तन गरिएको थियो । तर, त्यसमा पनि बाटुलेचौर खण्डमा स्थानीयले विरोध जनाएका हुन् ।

आयोजना कार्यालय भने पछिल्लो रेखांकन व्यक्तिका घरहरुमा क्षति नपुग्ने गरी बनाइएको छ । अरु राजमार्गमा जस्तो मध्यपहाडीमा भने सडक मापदण्ड पनि नलाग्ने अधिकारीहरु बताउँछन् ।

विरोधमा वडा कार्यालय बन्द

स्थानीय पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका छन् । उनीहरुले रेखांकनको विरोधमा चैत १ गतेदेखि दैनिक २ घन्टा वडा कार्यालय बन्द गरेका छन् ।

‘स्थानीयसँग सरसल्लाह नै नगरी आफूखुशी रातारात रेखांकन परिवर्तन गर्ने सिफारिस भयो’, पीडित संघर्ष समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले भने, ‘यहाँ घरै ध्वस्त हुने भयो नि ! बाटोघाटो पहिले नै छ, चाहिएकै छैन । वडाका पहिलेका जनप्रतिनिधिहरुको लापरबाहीले गर्दा यस्तो भएको हो ।’

बुधबारबाट वडा कार्यालय दैनिक साढे ३ घन्टा बन्द गरिने उनले बताए । ‘हामीले विरोध गर्दागर्दै सम्झौता गरेर काम सुरु भयो’, उनले भने, ‘विरोधस्वरुप हामीले चैत १ गतेदेखि मंगलबारसम्म दैनिक २ घन्टा बन्द गरेका हौं, त्यसपछि पनि हाम्रो माग पूरा भएन भने सशक्त आन्दोलन गर्छाैं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *