कपिलवस्तुमा विद्यार्थी संगठनले यसअघिका विरासत भत्काए – Nepal Press

कपिलवस्तुमा विद्यार्थी संगठनले यसअघिका विरासत भत्काए

रुपन्देही । कपिलवस्तुमा यसअघि जितेर आफ्नो विरासत बनाउँदै आएका विद्यार्थी संगठनहरुले भत्काएका छन् । धेरै क्याम्पसमा एमाले निकट अनेरास्ववियुले नयाँ जित दर्ता गरेको छ भने एक क्याम्पसमा ५२ सालयता जितेको विरासत गुमाएको छ ।

शिवपुरमा पहिलो पटक अनेरास्ववियुको जित 

कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा पहिलो पटक नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार रामकुमार तेली विजयी भएका छन् । तेलीले १ सय ७६ मत ल्याउँदै विजयी भएका हुन् ।

यस्तै अध्यक्षमा लोकतान्त्रिक प्यानलका सुनिल हरिजनले १ सय १९ मत ल्याए । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पुरन आचार्यले ८७ मत ल्याउँदा नेविसंघका दिवाकर उपाध्यायले ८९ मत पाए ।

सचिवमा अनेरास्ववियुका अर्जुन बेल्वासेले १ सय ८१ मत ल्याएर विजयी भए । लोकतान्त्रिक प्यालनका शतिस पालले १ सय ८ मत पाउँदा राप्रवि संगठनका मेनुका बस्नेतले ९२ र नेविसंघका सन्तोष विष्टले ८४ मत पाए ।

कोषाध्यक्षमा अनेरास्ववियुकै गृन्जा थारु विजयी भएकी छिन् । थारुले १ सय ९४ मत ल्याउँदा लोकतान्त्रिक प्यानलका बन्दना कुर्मीले १ सय १४, राप्रवि संगठनका तौहिद खाँले १ सय ७, नेविसंघका वृजलाल गुप्ताले ४८ मत ल्याए ।

अरु ५ जना सदस्यमा सबै अनेरास्ववियु प्यानलकै उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा अनुपा खड्का, लक्ष्र्मी कार्की, दिलिप कुर्मी, निलम मिश्रा र कुमार केसी रहेका छन् ।

अनेरास्ववियुले यस क्याम्पसमा अझैसम्म अध्यक्ष जित्न सकेको थिएन । वि।सं। २०६५ को स्ववियुका नेविसंघका विशाल गुप्ता सभापति भएका थिए भने वि।सं। २०७३ सालको निर्वाचनमा राप्रपा निकट राप्रवि संगठनका रजत गुप्ताले चुनाव जितेका थिए । यो पटक अनेरास्ववियुको सिंगो प्यानल नै यहाँ विजयी भएको हो ।

सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको किल्ला तोडदै नेविसंघ विजयी

वि.स. २०५२ सालयता नेकपा एमाले निकट अनेरास्ववियुले किल्ला बनाएको कपिलवस्तुको वाणगंगा बुङिचस्थित सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको छ ।एकलै चुनाव लडेको नेविसंघका थारुले अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाललाई पराजित गरेका हुन् ।

थारुले ३ सय ७२ मत पाउँदा खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी बहुमतको समर्थन थियो ।
यस्तै अखिल क्रान्तिकारी संयुक्त प्यानलका विष्णु बहादुर राउत विज्ञानले १ सय २० मत प्राप्त गरे ।

सचिव पदमा भने अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् । गिरीले ४ सय ३८ मत प्राप्त गरे ।

नेविसंघका नारायण पौडेलले ३ सय ५६ मत पाउँदा अखिल क्रान्तिकारी संयुक्त प्यानलकी बर्षा बन्जाडेले ६१ मत ल्याइन् ।

कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् । उनले ४ सय ३८ मत पाउँदा अनेरास्ववियुकी अप्सरा चौधरी थारुले ३ सय १५ मत ल्याइन् ।

सदस्यतर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् ।

नेविसंघबाट सुदन पोख्रेल निर्वाचित हुँदा नेविसंघका प्रदीप भट्टराई, निशा थारु र अनेरास्ववियुका शेषकान्त मरासिनीको समान मत आएको छ ।

गौतमबुद्धमा नेविसंघ विजयी

कपिलवस्तुको गौतमबुद्ध बहुमुखी क्याम्पस बडहरामा स्वतन्त्र विद्यार्थी युनियनको पहिलो चुनावमा नेविसंघ विजयी भएको छ ।

बुद्धभूमि नगरपालिका वडा नं २ मा रहेको सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको हो ।

विसं २०७३ सालमा पहिलो पटक स्ववियु चुनाव हुन थालेको यो क्याम्पसमा निर्वाचनको अन्तिम समयमा विवाद हुँदा निर्वाचन प्रक्रिया स्थगित भएको थियो।

नेकपा एमाले निकट अनेरास्ववियुलाई हराउँदै नेपाली कांग्रेस निकट नेविसंघका तोयनारायण न्यौपाने अध्यक्षमा विजयी भएका छन् ।

यस्तै यही प्यानलबाट सचिवमा रेनु पौडेल, कोषाध्यक्ष लक्ष्मी थारु विजयी भएका छन् । सदस्यहरुमा तृप्ति खनाल, सुष्मिता गुप्ता, जोसना थारु, राजन बेल्वासे र कृष्ण घले विजयी भएका छन् ।

यसैगरी बुद्धभूमी क्याम्पस बर्कलपुर ,फलारी बाबा बहुमुखी क्याम्पस महाराजगंग र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा अनेरास्ववियूको प्यानल नै विजयी भएको हो ।

बुद्धभूमिमा बाबुराम गिरीको प्यानल, महाराजगंजमा अभिशेष यादवको प्यानल र शिवपुरमा राम कुमार तेलीको प्यानल नै विजयी भएको हो । नेपाल आदर्श क्याम्पस शिवपुर र फलारी वावा बहुमुखी कयाम्पस महाराजगंज यसअघि नेविसंघले जित्दै आएका क्याम्पस हुन् ।

यता कपिलवस्तु बहुमुखीमा नेविसंघको प्यानल विजयी भएको छ । यहाँ तोयनारायण न्यौपानेको प्यानल विजयी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर