तीन महिनामै दोस्रो पटकमा प्रधानमन्त्री प्रचण्डले कति पाउँलान् विश्वासको मत ? – Nepal Press

तीन महिनामै दोस्रो पटकमा प्रधानमन्त्री प्रचण्डले कति पाउँलान् विश्वासको मत ?

‘पहिला ९९.२५ प्रतिशत मत पाएका थिएँ, भोलि सय नै हुन्छ भन्ने आशा छ’

काठमाडौं । पुस १० गते प्रधानमन्त्री भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दोस्रो पटक विश्वासको मत लिँदैछन् । यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए ।

दुई महिनामै सत्ता समीकरण फेरिँदा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताअनुसार प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्काएर चुनावअघिकै गठबन्धन ब्युँताएका प्रचण्डलाई दश दलीय गठबन्धनको साथ छ । गठबन्धनमा माओवादीसहित कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिने भएका छन् ।

तर, सरकारबाट बाहिरिएपछि अझै समर्थन कायम राखेको प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको प्रतिनिधिसभामा १९ जना सांसद छन् । रास्वपा माहोल मिले अझै सरकारमा फर्किन तयार देखिएको छ ।

कांग्रेस, रास्वपा र नेकपा एसले आजै बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए ।

कांग्रेस, नेकपा एससहित गठबन्धनमा सामेल अन्य साना दलले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निश्चित छ । अहिले एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेमकिपामात्रै प्रधानमन्त्रीको विपक्षमा उभिने देखिएको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने विश्वास रहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको थिएँ । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

एमालेको ७८, राप्रपाको १४ र नेमकिपाको १ जना सांसदले विश्वासको मत नदिने निश्चित छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको ८७, माओवादीको ३२, रास्वपाको १९, जसपाको १२, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४, नाउपाको ४, राजमो र आम जनता पार्टीका एक-एक सांसदले विश्वासको मत पाउनेछन् । यीबाहेक केही स्वतन्त्र सांसदको पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर