अदालत र विद्यार्थी संगठनले रोके पोखराको स्ववियु चुनाव : कुनै पनि क्याम्पसमा भएन मतदान – Nepal Press

अदालत र विद्यार्थी संगठनले रोके पोखराको स्ववियु चुनाव : कुनै पनि क्याम्पसमा भएन मतदान

पोखरा । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै विद्यार्थीमा उत्साह बढ्यो । १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन नजिकिदै गर्दा विद्यार्थीमा उत्साह बढ्दो थियो । तर, निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थीमा विवाद बढ्दै गयो । दैनिक जसो नै क्याम्पसहरु विवाद, तालाबन्दी चलिरह्यो ।

कतिसम्म भने विद्यार्थीकै गतिविधिले स्ववियु निर्वाचननै प्रभावित बने । त्यसैको फलस्वरुप कास्कीका कुनैपनि क्याम्पसमा तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेन ।

नेपालकै सबैभन्दा बढी विद्यार्थी रहेको पिएन क्याम्पसमा उच्च अदालत पोखराले स्ववियु निर्वाचनको काम कारवाही अगाडि नबढाउन आदेश दिएको छ ।

क्याम्पसको एक समूहले आफुले दर्ता गरेको नाम नपाएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा टेकेर अदालतले अन्तिम आदेश नआउँदासम्म क्याम्पसमा निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएको थियो । सोही कारण पिएनमा स्ववियु निर्वाचन हुन सकेन ।

क्याम्पसका ४ संगठनले विद्यार्थीको व्यक्तिगत डाटा बाहिर ल्याएको भन्दै स्ववियुु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । जसले गर्दा फागुन २७ गते रहेको उम्मेदवारी दर्ता प्रक्रियासमेत प्रारम्भ हुन सकेन ।

फागुन २८ गते अदालतले काम कारवाही अगाडि नबढाउन आदेश दिएसँगै क्याम्पसमा स्ववियु गतिविधि रोकिन पुगेको थियो । अर्थात आदेशपछि स्ववियु निर्वाचन अनिश्चित नै बनेको छ । निर्वाचन अधिकृतले राजीनामा दिएका छन् ।

पोखरा नर्सिङ क्याम्पसमा पनि उच्च अदालत पोखराले काम कारवाही अगाडि नबढाउन आदेश जारी गरेपछि स्ववियु निर्वाचित अनिश्चिन बन्यो ।

चुनावी प्रक्रिया अघि बढेको नर्सिङमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अनेरास्ववियु सभापति र कोषाध्यक्षको मनोनयन खारेज माग गर्दै अदालतमा रिट दायर गरेपछि अदालतले काम कारवाही अगाडि नबढाउन आदेश दियो ।

इन्जिनियरिङ अध्ययन संस्थान उम्मेदवारी दर्ता भएर अगाडि बढेको थियो । तर, नेविसंघको एउटा पक्षले उम्मेदवारी दर्तालाई असन्तुष्ट जनाउँदै फागुन २९ मा क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि इन्जिनियरिङ अध्ययन संस्थानमा पनि स्ववियु अनिश्चित बन्यो ।

नेविसंघले मनोनयन दर्तामा एकलौटी गरेको भन्दैै नेविसंघ क्याम्पस इकाइ समितिका ३ उपसभापतिसहित राजीनामामा समेत गरेका थिए । सोही समूहले निर्वाचन समितिको राजीनामा माग गर्दै आमरण अनसन पनि बसेका थिए । विवाद समाधान गर्न बसेको विद्यार्थी र क्याम्पसको बैठकमा सहमति नजुटेपछि अन्तिम समयमा स्ववियु निर्वाचन स्थगित भयो ।

संस्कृत विश्वविद्यालय अन्तर्गतको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा पनि स्ववियु निर्वाचनको मिति चैत ५ मै तोकिएको थियो । जसको फागुन २८ गते उम्मेदवारी दर्ता गर्न कार्यसूची थियो । तर, दुई विद्यार्थी संगठनले मुख्य प्रवेशद्वार तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन सकेन ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको निर्देशिका र परिचयपत्रको विषयमा आपत्ति जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले ताला लगाएपछि स्ववियु निर्वाचन अनिश्चित बन्यो । साथै क्याम्पसका पठनपाठनसमेत प्रभावित भयो ।

जनप्रिय बहुमुखी क्याम्पसमा फागुन ५ गते विद्यार्थीहरुले तालाबन्दी लगाएपछि निर्वाचनका कुनैपनि प्रक्रिया अगाडि बढ्न सकेन । उक्त ताला फागुन ८ गते खुलेपछि पुनः ९ गते दोस्रो पटक तालाबन्दी भयो । तालाबन्दीपछि बसेको सर्वदलीय बैठकले पनि त्यो समाधान गर्न नसकेपछि त्रिविको कार्यतालिका अनुसार निर्वाचन भएन ।

जनप्रिय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन गर्न विद्यार्थीहरूले माग गरेका छन् । गत बुधबार विद्यार्थी संगठनहरूले संयुक्त वक्तव्य निकाल्दै स्ववियु निर्वाचन गर्न माग गरेका हुन् ।

वन विज्ञान क्याम्पसमा पनि विद्यार्थी संगठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन हुन सकेन । नेविसंघ र अखिल क्रान्तिकारीले भर्नासम्बन्धी विवाद हुँदा स्ववियु निर्वाचन प्रक्रिया प्रभावित भयो । जसले गर्दा चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर