राराब स्ववियु निर्वाचन : बाहिर नाराबाजी, भित्र शान्तिपूर्ण मतदान – Nepal Press

राराब स्ववियु निर्वाचन : बाहिर नाराबाजी, भित्र शान्तिपूर्ण मतदान

पूर्वमन्त्री यादव पनि विद्यार्थीको चुनावमा सक्रिय

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ ।

क्याम्पस बाहिर विद्यार्थी नेता र उम्मेदवारका समर्थकहरू नाराबाजी गरिरहेका छन् भने भित्र शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । स्वविय निर्वाचनमा आफ्ना विद्यार्थी नेतालाई चुनाव जिताउन पार्टीका नेताहरू समेत सक्रिय बनेका छन् ।

स्वविय निर्वाचन स्थलमा नेपाली कांग्रेसका मधेश प्रदेश सांसद तथा पूर्वमन्त्री रामसरोज यादव, पार्टीका नगर उपसभापति विक्रम साह लगायतका नेताहरू पुगेका थिए । उनीहरू जसरी पनि पार्टी निकट विद्यार्थी संगठन नेविसंघका उम्मेदवार जिताउन लागेका छन् ।

चुनाव स्थलमा शहिदनगर नगरपालिकाको सरकारी गाडी समेत देखिएको छ । मेयर दिनेश यादव चढ्ने गाडी स्ववियु चुनावमा प्रयोग गरिएको छ । तर मेयर यादव भने आफैँ चुनाव स्थलमा देखिएका छैन ।

राराब क्याम्पसमा अधिकतम विद्यार्थी बाहिर जिल्लाका छन् । बाहिरका विद्यार्थीहरू पनि मतदानमा सहभागी हुन आएको देखिन्छ । १४ वर्षपछि स्वविय निर्वाचन हुन लागेकाले पनि विद्यार्थीहरू उत्साहित छन् । मतदानको लाइनमा बसेका विद्यार्थीहरूले स्वच्छ छविका उम्मेदवार जिताउने बताउँछन् ।

राराबमा नेविसंघबाट मनिष कुमार यादव सभापतिका उम्मेदवार छन् । सत्ता गठबन्धनका अन्य दल तालमेल गरेर चुनावमा प्रतिस्पर्धामा उत्रे पनि काँग्रेसका भातृ संगठन नेविसंघ एक्लै भिडेका छन् ।

नेविसंघसहित विद्यार्थी संगठनका ६ सभापति उम्मेदवार प्यानल बनाएर उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा उम्मेदवार छन् ।

जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियु निर्वाचनमा तालमेल गरेका छन् । यी ५ दलको तर्फबाट जसपाबाट गौतम यादव सभापति उम्मेदवार छन् ।

यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत संघ पनि पहिलो पटक स्ववियु निर्वाचनमा भाग लिएका छन् । विद्यार्थी जनमत संघका इजाज मोमिन सभापतिका उम्मेदवार बनेका छन् ।

यस्तै स्वतन्त्र विद्यार्थी समूहका कन्हैया कुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्का अभिषेक साह पनि सभापतिमा उम्मेदवारी दिएका छन् । २१ सदस्यीय कार्य समितिका लागि हुने निर्वाचनमा राराब क्याम्पसको स्ववियु सभापतिमा ६ जना सभापतिसहित ८८ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर