स्वतन्त्र शंकरदेव प्यानलका सभापति सुशील धामीको गुनासो- नेविसंघले गुण्डा लगाएर धम्की दिँदैछ (भिडिओ)
काठमाडौं । देशभरि स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनावी माहोल तातेको छ । अधिकांश क्याम्पसहरुमा चैत ५ गते मतदान हुँदैछ । केही क्याम्पसहरुमा विवाद र अन्य विविध कारणले चुनावको मिति परिवर्तन भएको छ ।
खासरी राजधानीका ठूला क्याम्पसहरुमा सबैको चासो र नजर छ । त्रिचन्द्र, मीनभवन, आरआर शंकरदेव लगायतका क्याम्पसहरुमा माहोल गर्माएको छ ।
नेपाली कांग्रेसका नेता उत्पादन गर्ने थलोका रुपमा चिनिएको शंकरदेव क्याम्पसमा यो पटक नेविसंघ नै छिन्न भिन्न भएको छ । नेविसंघको केन्द्रीय सभापति अध्ययनरत रहेको सो क्याम्पसमा अध्यक्षले एकलौटी गर्न खोजेपछि विद्रोही विद्यार्थीहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
शुशील धामी नेतृत्वमा पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी समेटेर टीम बनाइएको छ ।
आफ्ना एजेण्डा लिएर विद्यार्थीमाझ चुनावी प्रचारमा रहेका धामी नेतृत्वको समूहले आफ्नो जित पक्का रहेको दाबी गर्दै आएको छ । तर पछिल्लो समय आफूलाई विगतमा आफू संलग्न संगठन र पार्टीबाट ‘थ्रेट’ आइरहेको गुनासो उनले गरेका छन् ।
शनिबार विहान सामाजिक सञ्जाल मार्फत आफ्नो ज्यानलाई खतरा रहेको भन्दै गुहार गरिरहेका उनी नेपाल प्रेसको सम्पर्कमा आएका छन् । चुनावको एकदिन अगाडिसम्मपनि आफू विद्यार्थीहरुमाझ जान नसकेको उनले बताए ।
उनले भने, ‘अहिले प्रत्येक विद्यार्थीमाझ गएर भेट्नुपर्ने समय हो । तर संगठनका सुकुल गुण्डाहरुले ज्यान मार्ने धम्की दिइरहेका छन् । गुण्डा लगाएर, प्रेसर दिएर उम्मेदवारी फिर्ता लिन लगाइरहेका छन् ।’
संगठन र पार्टीका नेताहरुले ज्यान मार्नेसम्मको धम्की दिएका कारण आफू अहिले काठमाडौं बाहिर लुकेर बसिरहेको उनले बताए ।
विद्यार्थीको हितमा रहेर काम गर्दै आएका धामी नेपाल विद्यार्थी संघमा आवद्ध थिए । संगठन भित्रबाट विद्रोह गरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि चुनाव लड्न खोज्दा आफ्नो अधिकार खोस्न खोजिएको उनको भनाई छ ।
उनले नेपाल प्रेससँग विस्तृतमा कुराकानी गरेका छन् ।
हेर्नुहोस भिडिओ