को हुन् उपराष्ट्रपति रामसहाय ? – Nepal Press

को हुन् उपराष्ट्रपति रामसहाय ?

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव निर्वाचित भए । शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभार ल्याएर तेस्रो उपराष्ट्रति बन्न सफल भए ।

उनले पक्षमा संघीय १८४ र प्रदेशसभाका ३२९ को मत पाए । उनको प्रतिस्पर्धाी एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् । निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

को हुन् रामसहाय ?

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा जिल्लाको साविक कचोर्वा गाविस ८ मा २०२७ साउन ९ गते उनको जन्म भएको थियो । उनी माता सिहवा देवी र पिता प्रसादरायका छोरा हुन् । उनले एसएलसी २०४३ सालमा कंकाली मावि सिम्रौनगढबाट गरे ।

उनले बी.एड. २०५५ ठाकुर राम बहुमुखी क्याम्पस वीरगञ्जबाट, बी.एस्सी सन् (१९९०-१९९३) डा. बाबासाहेब भिमराव अम्वेडकर विश्वविद्यालय भारत र आई.एस्सी. सन् १९९० इन्टरमिडियट शिक्षा परिषद् भारतबाटै गर्न सफल भए ।

२०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका यादव ०६४ साल फागुन १६ गते शिक्षक पदबाट अलग भए । उनले शिक्षणसँगै २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लवको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य भूमिका पनि निर्वाह गरे ।

राजनीतिक यात्रा

शिक्षण पेशमा आबद्ध रहेकै बेलामा यादवले राजनीति पाइला अघि सारे । २०४७ सालमा नेपाल सद्भावना पार्टीमा आवद्ध भए । उनी नेपाल शिक्षक मञ्च बाराको संस्थापक अध्यक्ष बने । नेपाल शिक्षक मञ्च केन्द्रीय समितिको कोषाध्यक्ष समेत बने ।

शिक्षणसँग राजनीति अघि बढाएका यादव २०५० मा नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशन वीरगंजमा पर्यवेक्षक बने । त्यसपछि नेपाल सदभावना पार्टीको चौथो महाधिवेशन विराटनगर प्रतिनिधिको जिम्मेवारी सम्हाले ।

२०५७ साल संविधानको नागरिकता विधेयकमा काठमाडौंमा सहभागि भई गिरफ्तारी समेत भए । २०५९ साल नेपाल सदभावना पार्टीको पाँचौ महाधिवेशन राजविराज महाधिवेशन प्रतिनिधि, राजविराज महाधिवेशनको क्रममा पार्टी एकता कायम राख्न सप्तरी सेवा आश्रममा आमरण अनसन, आनन्दी देवी दारा अनसन तोडन लगाई आनन्दी देवीको नेतृत्वमा नेपाल सद्भावना पार्टी (आनन्दी) गठनमा समेत भूमिका निर्वाह गरे ।

यस्तै, ०५९ मधेसी जनअधिकार फोरम, नेपालमा आबद्ध, २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजन (अध्यक्ष), २०६० साल मधेसी जनअधिकार फोरम, नेपाल केन्द्रीय सदस्य (पटना वैठकद्वरा), २०६२/०६३ को जनआन्दोलमा सव्रिmय सहभागिता (काठमाडौंमा गिरफ्तार), २०६२/०६३ साल मधेश जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतत्वको जिम्मेवारी (आन्दोलनको क्रममा ५-६ पटक गिरफ्तार) भए ।

२०६४ साल मधेसी जनअधिकार फोरम, नेपाल निर्वाचन आयोगमा पार्टी दर्ता पार्टीको केन्द्रीय सदस्य, २०६४ सालको पहिलो संविधान सभामा संविधान सभा सदस्य (समानुपातिक तर्फ) हुँदै २०६५ साल पार्टी महासचिवको जिम्मेवारी पनि सम्हाले ।

पहिलो संविधानसभा अन्तराष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यको जिम्मेवारी पनि पाए । सन् २००९ मा भएको संयुक्त राष्ट्रयसंघको महासम्मेलनमा न्यूयोर्कमा प्रतिनिधि मण्डलको सदस्यमा सहभागी भए ।

२०७२ साल मधेशी जनअधिकार फोरम, नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम, नेपालको महासचिव बने ।

२०७४ को निर्वाचनमा बारा २ बाट निर्वाचित भए । ०७४ मा पोलैण्डमा राष्ट्रयपतिको उच्चस्तरीय प्रतिनिधि मण्डलमा सहभागी, २०७५ मा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिवको जिम्मेवारी सम्हाले ।

२०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्यको जिम्मेवारी सम्हाले ।

२०७८ मा वन तथा वातावरण मन्त्री, जलवायु सम्मन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा उच्चस्तरीय प्रतिनिधि मण्डलमा सहभागी (शेरबहादुर देउवाको नेतृवमा वन तथा वातावरण मन्त्रीको हैसियतमा) भए ।

२०७९ को निर्वाचनमा पनि बारा २ बाट निर्वाचित भए । निर्वाचनपछि जनता समाजवादी पार्टीको संसदीय दलको नेता भएका यादव पार्टी अध्यक्ष उपेन्द्र यादवको निरन्तर सहयोगी बनेकै कारणले अहिले उपराष्ट्रपति बन्न सफल भए ।

तर, अध्यक्ष यादवले आफूलाई सहयोग गरेको गुण तिर्दै गर्दा उपेन्द्रलाई पनि संसद प्रवेश गर्ने मौका मिलेको छ । मंसिरमा भएको निर्वाचनमा पराजित भएका उपेन्द्र अहिले बारा २ बाट उपनिर्वाचन लड्ने तयारीमा छन् । उपराष्ट्रपति जस्तो उच्च ओहोदामा पुगेका रामसहायले पनि पार्टी अध्यक्ष उपेन्द्रलाई सहयोग गर्ने मौका पाए ।

उनले राजनीतिक दौरानको क्रममा अमेरिका, पोलैण्ड, चीन, बेलायत, (स्कटलैण्ड, ईगल्याण्ड,) वेल्जियम, युएई (संयुक्त्त अरब इमिरेट्स)लगायको समेत भ्रमण पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर