दलहरुलाई आयोगले भन्यो- उपराष्ट्रपतिबारे बैठक राखेर निर्णय नलिनू – Nepal Press

दलहरुलाई आयोगले भन्यो- उपराष्ट्रपतिबारे बैठक राखेर निर्णय नलिनू

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आग्रह गरेका छन् ।

आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका गतिविधि नगर्न भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय नगर्न राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’

उपराष्ट्रपतिको निर्वाचनमा कित्ता क्लियर नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय लिन भोलि नै बैठक बोलाएको छ । कांग्रेसले पनि बिहीबार मौन अवधि सुरु भएपछि रामसहाय यादवलाई मत दिने निर्णय गरेको थियो ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट यादवसहित जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । झाको उम्मेदवारी निष्क्रिय बनाउने प्रयास भइरहेको छ । एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छिन् ।

प्रतिक्रिया

One thought on “दलहरुलाई आयोगले भन्यो- उपराष्ट्रपतिबारे बैठक राखेर निर्णय नलिनू

  1. होईन यो आयोगले जाँड खाएको तालमा विज्ञप्ति निकाल्छ कि के हो ? अलि दिन अगाडि त महिलामात्र उमेदवार बनाउन पाउने भनेको थियो त ! फेरि आज यो के भन्दैछ ? उज्यालो भयो साथी उज्यालो भयो लोकतन्त्र हो यो ईस मे सब् कुछ हो सकता हे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर