आसिफ खानको अविश्वसनीय हिटिङ, ६ ओभरमा यूएईले जोड्यो १०२ रन – Nepal Press

आसिफ खानको अविश्वसनीय हिटिङ, ६ ओभरमा यूएईले जोड्यो १०२ रन

अन्तिम उन्नाइस बलमा ११ छक्का सहित आसिफले बटुले ७८ रन

काठमाडौं । टस जितेर पहिले ब्याटिङ गरेको यूएईलाई नेपाली बलरहरूले ४४ औँ ओभरसम्म दबाबमा राखेका थिए । तर, त्यसपछि जे भयो, नेपाली समर्थकहरूका लागि त्रासदीसरह थियो ।

सातौँ नम्बरमा ब्याटिङमा आएका आसिफ खानले नेपाली बलरहरूमाथि आगो ओकेलेका छन् । कुनै समय २३ बलमा २३ नै रन बनाएका आसिफले शतक बनाउने कल्पना नै थिएन । तर, त्यसपछिका १९ बलमा उनले अविश्वसनीय ब्याटिङ गर्दै ७८ रन जोडे । हो, तपाईँ सही पढ्दै हुनुहुन्छ– १९ बलमा ७८ रन । त्यसमा ११ छक्का सामेल थिए ।

आसिफले नेपालका तीन बलरहरू सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेलाई टार्गेट बनाए । उनले सन्दीपले फ्याकेको ४८ औँ ओभरमा लगातार ४ छक्का प्रहार गरेका थिए ।

४४ ओभरसम्म नेपालले यूएईलाई २५० रनमा समेट्न सक्ने आशा थियो । नेपालका स्पिनरहरूले कसिलो बलिङ गरिरहेका थिए । तर, जब आसिफ हिटिङ मोडमा उत्रिए, नेपाली बलरहरू निरिह बन्न पुगे ।

आजको म्याचमा नेपालले पाएको लक्ष्य कीर्तिमानी हो । कुनै पनि टिमले एक दिवसीयमा नेपालमाथि यति ठूलो स्कोर खडा गर्न सकेका थिएनन् ।

नेपालको ब्याटिङ अहिले उच्च फर्ममा छ । तर, पनि ३११ को लक्ष्य भेट्नु फलामको च्यूरा बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर