तिलोत्तमा गोल्डकपको अन्तिम तयारी, खेलतालिका सार्वजनिक – Nepal Press

तिलोत्तमा गोल्डकपको अन्तिम तयारी, खेलतालिका सार्वजनिक

रुपन्देही । मोफसलमा ठूलो पुरस्कार राशीको तिलोत्तमा गोल्डकपको चैत ४ गतेदेखि सुरु हुने खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।

बुटवलस्थित एन्फा टेन्किल सेन्टरमा चैत्र ११ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए । तिलोत्तमा गोल्डकपको यो बाइसौं श्रृखला हो ।

खेल तालिकाअनुसार चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै ८ र ९ गते सेमिफाइनलका खेल हुने छन् भने चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेता टिमले गोल्डकप संगै ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधीभर उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले बताए ।

मोफसलमा सर्वाधिक पुरस्कार राशीको तिलोत्तमा गोल्डकप प्रतियोगिताको लागि १ करोड आठ लाखभन्दा बढी खर्च अनुमान गरिएको छ ।
विगतका प्रतियोगिताभन्दा यसपटक पुरस्कार राशी बृद्धि गरिएको र अन्य खर्च बढेकोले बढी खर्च अनुमान गरिएको अध्यक्ष पुनले बताए ।

गोल्डकप प्रतियोगिताको २० औं संस्करणमा ७ लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार राशी रहेकोमा २१ औं संस्करणमा पुरस्कार राशी बढाएर ८ लाख ८० हजार पुर्‍याईएको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन ।

त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो । ६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रीस्टार क्लव काठमाडौं र २१ औं क्यामरुनको दाफिन्स क्लबले जितेको थियो ।

४ वर्षदेखि रोकिएको गोल्डकप आयोजनामा लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख सहयोग गरेको छ । एन्फा उपाध्यक्ष तथा फुटवल संघ रुपन्देहीका पूर्व अध्यक्ष दीर्घबहादुर केसी कुमारले फुटबल प्रतियोगितामा नेपालमै प्रतिष्ठित तिलोत्तमा गोल्डकपलाई रुपन्देहीका सबै क्षेत्रमा रहेकाहरुले अपनत्व लिनुपर्ने बताउँछन् ।

रुपन्देहीलाई पहिचान दिने यो देशमै प्रतिष्ठित र इतिहास बोकेको कप हो, यसलाई व्यवस्थित बनाउन सबै क्षेत्रको महत्व हुन्छ, खेलप्रेमीलाई यो ठूलो अवसर हो, यसको निरन्तरता र व्यवस्थापनका लागि हामी लागिरहेका छौं, रुपन्देही आउने सबै क्षेत्रका खेलाडी तथा खेलप्रेमीलाई राम्रो वातावरण कसरी दिन सकिन्छ भन्ने सबैले सोच्नुपर्दछ– उनले भने ।

यो क्षेत्रमा फुटवल खेलाडी उत्पादन गर्दै आएको एन्फा एकेडेमीमा हुने यो खेलले रुपन्देहीको पहिचान बढाएको खेलकुद पत्रकार मन्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी बताउँछन् । मोफसलमा यति ठूलो महत्व र इतिहासको प्रतियोगिता नै कम छन्, यो सबैले बुझ्न जरुरी छ– अधिकारीको भनाइ छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फुटवल संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर