युएईसँग नेपालको निर्णायक म्याच आज, सबै टिकट ‘सोल्ड आउट’ – Nepal Press

युएईसँग नेपालको निर्णायक म्याच आज, सबै टिकट ‘सोल्ड आउट’

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत अन्तिम खेलमा बिहीबार नेपाल र युएई खेल्नेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेबाट सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो।

युएई विरुद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट हुनेछ।

पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ। एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ।

कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ। ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल विजयी भएमा ४० अंक हुनेछ। तर कुनै कारण खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआए पनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।

त्यसैले नामिबियालाई उछिनेर तेस्रो स्थानमा उक्लँदै ग्लोबल छनोटमा प्रवेश पाउन नेपाललाई युएईविरूद्ध निश्चित जित आवश्यक पर्नेछ । यदि युएईसँग पराजित भएमा भने नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने एसोसियट राष्ट्रहरू सम्मिलित ‘क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ ।

सबै टिकट ‘सोल्ड आउट’

त्रिवि मैदानमा हुने खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानले सबै टिकट बिक्री भइसकेको र भिडभाड हुने भएकाले वृद्ध वृद्धा र बालबालिकालाई घरबाटै क्रिकेट हेरेर सपोर्ट गर्न आग्रह गरेको छ ।

टिकटबाट उठेको सबै रकम खेलाडी कल्याणकारी कोषमा राख्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर