नेविसंघको विरासत बोक्ने शंकरदेवमा ‘स्वतन्त्र शंकरदेव’ प्यानलको बलियो चुनौती – Nepal Press

नेविसंघको विरासत बोक्ने शंकरदेवमा ‘स्वतन्त्र शंकरदेव’ प्यानलको बलियो चुनौती

काठमाडौं । नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रुपमा चर्चित शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा यसपटक नेविसंघका आधिकारिक उम्मेदवारभन्दा स्वतन्त्र प्यानल भारी पर्ने देखिएको छ ।

क्याम्पसमा नेविसंघको संगठन बनाएर विद्यार्थीसँग नियमित जोडिएका नेताहरुले स्वतन्त्र शंकरदेव प्यानल बनाएर उम्मेदवारी दिएपछि यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको हो ।

नेविसंघबाट आधिकारिक उम्मेदवार सुसान्तसिंह बस्नेतलाई अघि सारिएपछि सुशील धामीको नेतृत्वमा स्वतन्त्र शंकरदेव प्यानल खडा भएको हो ।

सो प्यानलबाट सचिवमा मिलन खतिवडा छन् भने कृष्णसिंह बोहोरा, सोमराज मल्ल, रमेश भट्ट, यादवराज ओझा, सुशान्त शुक्ला र सुर्यमान तामाङ सदस्यका उम्मेदवार बनेर आक्रामक चुनावी अभियान थालेका छन् ।

शंकरदेवमा नेविसंघलाई नेकपा एसनिकट अनेरास्ववियूले साथ दिएको छ भने स्वतन्त्र शंकरदेव प्यानल एकल खडा भएको छ । त्यस्तै, एमालेनिकट अनेरास्ववियुबाट मुना तिवारी र माओवादीनिकट अखिल क्रान्तिकारीबाट बिरेन जिसी सभापतिको उम्मेदवार छन् ।

स्वतन्त्र शंकरदेव प्यानलका सचिव उम्मेदवार मिलन खतिवडाले आफूहरु अब कसैको दबाबबाट ब्याक नहुने भन्दै २९ गते बेलुकासम्म सहमतिको लागि पर्खिएको बताए ।

खतिवडाले भने- अब हामी ब्याक हुने सम्भावना सकियो । हामी शंकरदेवका प्यानलै जित्दैछौं,हामी कुनै हालतमा ब्याक हुन्नौं । नेतृत्वको दबाबको अब अर्थ छैन । विद्यार्थीसँग् भिजेको लोकप्रिय टिम हाम्रै हो यो क्याम्पसमा ।

स्वतन्त्र प्यानलले शंकरदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि अध्ययन अनुसन्धान केन्द्र बनाउने नारा विद्यार्थीमाझ लगेको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले एकलौटी गरेपछि उनीहरुले स्वतन्त्र शंकरदेव प्यानल बनाएका हुन् । रोचक संयोग के छ भने सभापति शेर्पा पनि सोही क्याम्पसका विद्यार्थी हुन् ।

उनी शंकरदेवको इकाइ काेषाध्यक्ष हुँदै हाल नेविसंघको केन्द्रीय सभापति छन् । चुनाव जित्ने लोकप्रिय विद्यार्थी नेताहरुलाई पाखा लगाएपछि स्वतन्त्र शंकरदेव प्यानल बनेको उनीहरुको दाबी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर