नेपालसँग खेल्नुअघि पीएनजीविरुद्ध यूएईको सानदार जीत – Nepal Press

नेपालसँग खेल्नुअघि पीएनजीविरुद्ध यूएईको सानदार जीत

काठमाडौं । कप्तान मोहमद वासिमको शतक प्रेरित आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले नेपालसँग खेल्नुअघि पपुवा न्यूगिनी (पीएनजी)माथि ६ विकेटको सानदार जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । लगातार हार व्यहोरिरहेको यूएईले लिग- २ श्रृंखलाअन्तर्गत मंगलबार पीएनजीविरुद्धको खेलमा फराकिलो जीत निकालेको छ ।

एकदिवसीय मान्यता र शीर्ष स्थानको अवसर गुमाएको यूएईलाई हारजीतले फरक नपारे पनि भोलिको खेल नेपालका लागि शीर्ष तीनमा रहेर सोझै विश्वकपको ग्लोबल क्वालिफयर खेल्न जित्नैपर्नै दबाब छ ।

यूएईको जीतमा कप्तान वासिमले सर्वाधिक ११९ रनको इनिङ खेले । उनले रिले हिकुरेको बलमा काबुआ मोएराबाट क्याचआउट हुनुअघि भृत्य अर्विन्दसँग दोस्रो विकेटका लागि १२५ रनको साझेदारी गर्दै ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गरे । यो वासिमको पहिलो एकदिवसीय शतक हो ।

भृत्य ५६ बल खेल्दै ५ चौका प्रहार गरेर ३३ रनमा आउट भएका थिए । आर्यन अफजल खान २७ रनमा पभेलियन फर्कंदा, चुन्दन्गापोयल रिजवान ४४ बल खेल्दै ४ चौका प्रहार गरेर २९ रन र आसिफ खान ३ बलमा समान एक चौका र छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे ।

पीएनजीका रिले हिकुरेले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिएर दुई विकेट लिए । मोयरा र जोन कारिकोले एक-एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार पारेको थियो । पीएनजीका कप्तान आसाद भालाले सर्वाधिक ६२ रनको योगदान गरे । उनले जवार फरिदको बलमा मोहमद वासिमबाट क्याच आउट हुनुअघि ९२ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे ।

ओपनर किप्लिन डोरिगा ६० बल खेल्दै तीन चौकाको मद्दतमा २४ रन बनाएर आउट हुँदा चार्ल्स अमिनीले २२ रन र गोउदी टोकाले १५ रन बनाए ।

रिले हिकुरे २२ बलमा तीन चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा विस्फोटक इनिङ खेलेका नोर्मान भानुवा ३१ बलमा ५ छक्का र १ चौको मद्दतमा ४९ रनमा अविजित रहँदा अर्धशतक बनाउन एक रनले चुके ।

यूएईका हजरत बिलालले १० ओभरमा ४७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जावर फरिदले एक-एक विकेट लिए ।

यसअघि लिग- २ मा पीएनजीले ३५ खेल खेल्दा पाँच जीत निकालेको छ । जसमा चार पटक यूएईलाई र एक पटक अमेरिकालाई पराजित गरेको छ । तालिकाको पुछारमा रहेको पीएनजीले लिग- २ का सबै खेल खेलिसक्दा ११ अंक जोडर पुछारमा रहेको छ ।

जारी लिगमा पीएनजी दुई खेलमा नेपालसँग पराजित भएको थियो । एक खेलमा यूएईलाई हराएको थियो ।

यूएई श्रृंखलाको पहिलो खेलमा नेपालसँग पराजित हुँदा एकदिवसीय मान्यता गुमाएको थियो । यूएईमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालसँगै हार्दा शीर्ष तीनमा रहेर सोझै विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्न बञ्चित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर