क्रिकेटप्रेमीको चिन्ता- भोलि पानी पर्ला कि नपर्ला ? यस्तो छ मौसमविदको भविष्यवाणी – Nepal Press

क्रिकेटप्रेमीको चिन्ता- भोलि पानी पर्ला कि नपर्ला ? यस्तो छ मौसमविदको भविष्यवाणी

काठमाडौं । नेपालले भोलि यूएईसँग लिग २ को निर्णायक र अन्तिम म्याच खेल्दैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलको अघिल्लो दिन क्रिकेट प्रेमीहरुको चासो छ- भोलि पानी पर्ला कि नपर्ला ?

बेलाबखत मौसम बदली भइरहेको र देशका विभिन्न स्थानमा पानीसमेत परिरहेकोले क्रिकेट समर्थहरू चिन्तामा परेका छन् । यदि वर्षाको कारणले भोलिको म्याच रद्द भयो भने नेपालको विश्वकप सपनामा ठूलो धक्का लाग्नेछ । नेपालले विश्वकपको क्वालिफायरमा स्थान बनाउनका लागि भोलि यूएईविरुद्ध खेल जित्नैपर्ने बाध्यता छ ।

भोलिको मौसमका विषयमा हामीले मौसमविद् सञ्जिव अधिकारीसँग जिज्ञासा राख्दा उनले देशभरको पहाडी भूभागमा आगामी तीन दिन पानी पर्ने सम्भावना रहेको बताए । प्रि-मनसुन सुरू भएको र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि दिउँसोदेखि बादल बढ्ने र अपरान्हदेखि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको उनको भनाई छ ।

काठमाडौं उपत्यकामा आज साँझ हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको समेत मौसमविद् अधिकारीले बताए । तर, भोलि अपरान्हसम्म पानी पर्ने सम्भावना कम रहेको उनको अनुमान छ ।

‘भोलि बिहान र दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना कम छ तर पनि दिउँसोदेखि बादल बढेर अपरान्हदेखि हल्का पानी पर्न सक्छ,’ उनले भने ।

पर्सि शुक्रबार भने भोलिको तुलनामा बढी पानी पर्ने उनी बताउँछन् ।

अधिकारीले थपे, ‘तीन दिन साँझ हावाहुरी चल्ने तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।’

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने उल्लेख छ । देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरूमा अपरान्हतिर मेघ गर्जन र चट्याङसहित क्षणिक वा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर