उपराष्ट्रपति निर्वाचन- गणितमा रामसहायको सहज दाबी, व्यक्तित्वमा अष्टलक्ष्मी हावी – Nepal Press

उपराष्ट्रपति निर्वाचन- गणितमा रामसहायको सहज दाबी, व्यक्तित्वमा अष्टलक्ष्मी हावी

काठमाडौं । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा दुई जना उम्मेदवार भए पनि यदि नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाका रामसहायप्रसाद यादवलाई मत दिए भने दलगत गणित उनको लागि सहज देखिन्छ ।

सत्ता गठबन्धनकै तीन घटक जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले ममता झालाई उम्मेदवार बनाएका छन् । गठबन्धनमा सहभागी प्रभु साहले आफूलाई कतै खुलाएका छैनन् । उनी जसपाविरोधी नेता मानिन्छन् ।

एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यसँग जित्न सहज मतभार छैन । तर, सत्ता गठबन्धनका उम्मेदवारसँग उनको तुलना गर्दा धेरै माथि रहेको र गठबन्धनको साझा उम्मेदवारसमेत नभएको अवस्थामा विगतका विरासतका आधारमा पनि माओवादी, नेकपा एकीकृत समाजवादीका सांसदहरुको मत शाक्यले तान्न सक्ने आँकलन गरिएको छ ।

गठबन्धनसँग उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई निर्वाचित गराउन सुविधाजनक बहुमत छ । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरेर ५ दलीय गठबन्धनलाई उपराष्ट्रपति निर्वाचित गराउन बहुमत पुगेको हो ।

८ दलमा बाँकी रहेको ५ दलीय सत्ता गठबन्धनलाई मात्रै हिसाब गर्दा पनि उसलाई उपराष्ट्रपति निर्वाचित गराउन बहुमत संख्या पर्याप्त छ । जम्मा कायम रहेको ५७ हजार ७७३ मध्ये ५४ प्रतिशत अर्थात ३१ हजार ७३८ मतभार ५ दलीय सत्ता गठबन्धनसँग छ ।

यस्तै अर्को उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई निर्वाचित गराउन नेकपा एमालेको प्रतिनिधिसभाका ७९ र राष्ट्रियसभाका १७ जना सांसद गरेर संघीय सांसदको संख्या ९७ मात्रै छ । संघीय संसदका ९६ जना सांसदको प्रत्येक मतदाताको ८७ मतभारका दरले जम्मा मतभार ४ हजार १७६ हुन आउँछ ।

यसबीचमा कतै नखुलेका वामदेव गौतमले अष्टलक्ष्मी शाक्यलाई मत दिने लगभग निश्चित छ । उनले राष्ट्रपतिमा पनि सुवास नेम्वाङलाई मत दिएका थिए ।

त्यस्तै मोरङ ५ बाट निर्वाचित योगी मण्डलले पनि शाक्यलाई मत दिने भएका छन् । उनी एमालेबाट जसपाविरुद्ध बागी उठेर जितेका थिए ।

यस्तै एमालेसँग प्रदेशसभामा १६२ जना सांसद रहेका छन् । १६२ जना प्रदेश सांसदको प्रतिमतदाता ५३ मतभारका दरले जम्मा मतभार ८ हजार ५८६ हुन आउँछ । २ जना स्वतन्त्र सांसदको मतभारसमेत जोड्दा एमालेसँग जम्मा मतभार १७ हजार ११२ पुग्छ । अहिले कायम रहेको जम्मा मतभार संख्या ५७ हजार ७७३ मा एमालेले २९ प्रतिशतमात्रै मतभार प्राप्त गर्नेछ ।

जनमत पार्टीका उम्मेदवार ममता झालाई मतदान गर्न प्रतिनिधिसभामा ६ जनामात्रै सांसद छन् । राष्ट्रियसभामा एकजना पनि सांसद जनमतको नभएकाले उसको संघीय सांसदको संख्या नै ६ मात्रै हो । ६ जना सांसदको मतभार ५२२ हुन आउँछ ।

प्रदेशसभामा जनमतसँग १६ जना सांसद रहेकाले उनीहरुको मतभार ८४८ हुन आउँछ । दुवैतर्फको हिसाब जोड्दा जनमत पार्टीसँग १ हजार ३७० अर्थात २ प्रतिशतमात्रै मतभार रहेको छ ।

यद्यपि जनमतका उम्मेदवार झालाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गरेका छन् । नाउपासँग प्रतिनिधिसभामा ४ जना सांसद रहेका छन् । उनीहरुको मतभार ३८४ हुन्छ । प्रदेशसभामा १२ जना सांसद भएकाले उनीहरुको मतभार ६३६ हुन आउँछ । दुवैतर्फको जम्मा मतभार ९८४ पुग्छ ।

यस्तै लोसपासँग प्रतिनिधिसभामा ४ र राष्ट्रियसभामा एक गरी संघीय संसदमा ५ जना सांसद छन् । ५ जना संघीय सांसदको मतभार ४३५ हुन्छ । त्यस्तै प्रदेशसभाका १३ जना सांसदको मतभार ६८९ हुन्छ । जसको कुल मतभार १ हजार १२४ हुन आउँछ । ३ पार्टीकै मतभार जोड्दा उपराष्ट्रपतिमा जनमत पार्टीकी उम्मेदवार झाले जम्मा ६ प्रतिशत अर्थात ३ हजार ४७८ मतभार प्राप्त गर्नेछिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेसम्म कतै खुलेको छैन । राष्ट्रपतिमा उसले रामचन्द्र पौडेललाई मत दिएको थियो । रास्वपासँग प्रतिनिधिसभामा १९ जना सांसद रहेका छन् । जसको मतभार १ हजार ६५३ रहेको छ ।

त्यस्तै राप्रपासँग प्रतिनिधिसभाका १४ जना सांसद छन् । जसको मतभार १ हजार २१८ हुन्छ । प्रदेशसभामा राप्रपासँग २८ जना सांसद छन् । उनीहरुको मतभार १ हजार ४८४ हुन्छ । दुवैतर्फको मतभार जोड्दा २ हजार ७०२ पुग्छ ।

त्यस्तै तटस्थ रहेको हाम्रो नेपाली पार्टीसँग प्रदेशसभामा एक जना सांसद रहेको छ । जसको ५३ मतभार हुन्छ । अहिलेसम्म कुनै निर्णय नगरेको नेपाल मजदुर किसान पार्टीसँग प्रतिनिधिसभामा एक र प्रदेशसभामा ३ जना सांसद रहेका छन् । जसको कुल मतभार २४६ हुन्छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ५४ मा निर्वाचक मण्डलमा रहने सदस्यको मतभारसम्बन्धी व्यवस्था गरिएको छ । उक्त ऐनसँग सम्बन्धित अनुसूचीमा गरिएको संघीय सांसद र प्रदेश सांसदको मतभारअनुसार सत्ता गठबन्धनलाई स्पष्ट बहुमत छ ।

निलम्बित नेपाली कांग्रेसबाट सांसद टेकबहादुर गुरुङ, राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेल, पदमुक्त रास्वपाका रवि लामिछाने र निधन भएका जसपाका संघीय सांसद सहनाज रहमानको मतभार यसमा जोडिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर