एमालेसँग गठबन्धन तोडेका प्रचण्डको आगामी बाटो सहज छैन : भट्टराई – Nepal Press

एमालेसँग गठबन्धन तोडेका प्रचण्डको आगामी बाटो सहज छैन : भट्टराई

माधव र झलनाथले छुट्टै पार्टी खोलेर प्रतिक्रियावादीको सेवा गरे

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेसँग गठबन्धन तोडेर माओवादीले घातक बाटो रोजेको दाबी गरेका छन् ।

मिसन ग्रासरूटअन्तर्गत सुर्खेतको मेहलकुनामा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले देशी विदेशी शक्तिको प्रभावमा परेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन तोडे पनि आगमी बाटो सहज नभएको दाबी गरेका हुन् ।

‘गठबन्धन टुटाउन अँध्यारो कोठाभित्र जे जति षड्यन्त्र भए, त्यसको पर्दा खुल्दै जानेछ । तर, यस्तो गठबन्धनले मुलुक र जनताको पक्षमा कुनै काम गर्दैन’, उनले भने ।

सचिव भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नून खाएर भक्तिभाव नगर्ने बताए । नेपालको सार्वभौमसत्ता र अखण्डता रक्षा गर्न एमाले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनको भनाइ छ ।

पछिल्लो पटक एमाले र माओवादीबीच बनेको गठबन्धनलाई विदेशी शक्तिको प्रभाव परेर माओवादीले भत्काएको सचिव भट्टराईले आरोप लगाए ।

कम्युनिष्ट गठबन्धन भत्काएर प्रचण्ड प्रतिक्रियावादीको सेवक बनेको उनले औंल्याए ।

समाजवादी नामको छुट्टै पार्टी बनाएर माधव नेपाल र झलनाथ खनालले पनि कांग्रेस जस्तो प्रतिक्रियावादीको सेवा गरेको सचिव भट्टराईले टिप्पणी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य धर्मराज रेग्मी, पूर्वसांसद ध्रुवकुमार शाही, कावा अध्यक्ष कुलमणि देवकोटालगायतले मिसन ग्रासरूट अभियानले पार्टीलाई थप मजवुत बनाउने बताए ।

कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएबापत २० जना अग्रजहरूलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर