ए डिभिजन लिग : चर्च ब्वाइज र संकटाले अंक बाँडे, फ्रेन्डसको पहिलो जित – Nepal Press

ए डिभिजन लिग : चर्च ब्वाइज र संकटाले अंक बाँडे, फ्रेन्डसको पहिलो जित

काठमाडौं । लगातार तीन जित निकालेको नवप्रवेशी चर्च ब्वाइज यूनाइटेडले सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टीमले गोल गर्ने अबसरहरु बनाएपनि फिनिसिङमा चुक्दा अंक बाँडेका हुन् ।

खेलको १६औं मिनेटमा आकाश चापागाँईले दिएको क्रसमा प्रशान्त लक्षमले वान भर्सेज वानमा गरेको प्रहार पोष्टमा लागेर बाहिरिँदा चर्च ब्वाइज अग्रता लिन चुकेको थियो । सुरुवातमा संकटामाथि निरन्तर आक्रमण बुनेको चर्चब्वाइजका अन्जन बिष्टले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार फ्रेममा परेन ।

त्यसको एक मिनेट नबित्दै संकटाका जुनियर ओन्गुनीले बक्सभित्रबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिँदा संकटाले अग्रता लिने मौका गुमायो ।

रोमाञ्चक खेलको ४३औं मिनेटमा एन्द्रे थिएरीको प्रहार चर्च ब्वाइजका डिफेन्डर कमल श्रेष्ठले क्लियर गर्दा पुनः संकटाले अग्रता लिने अवसर खेर फाल्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने दुबै टिमले गोल गर्ने अवसरहरु सृजना गर्न सकेनन् ।

इन्जुरी समयमा कमलले ह्यान्ड गर्दा संकटाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टिमा मनिष डाँगी चुक्दा संकटा अन्तिम समयमा गोल गर्दै जित निकाल्ने अवसर बाट बञ्चित भयो । मनिषको प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसोले बायाँतर्फ डाइब गर्दै उत्कृष्ट बचाउ गर्दै टिमलाई हारबाट जोगाएका थिए ।

बराबरीसँगै चर्चब्वाइज ४ खेलमा १० अंकजोडेर शिर्ष स्थानमा यथावत छ । संकटाले ४ खेलमा समान एक जित, हार र दुई बराबरीको नतिजासहित पाँच अंक जोडर आठौं स्थानमा रहेको छ ।

आजै दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै फ्रेन्डस क्लबले लिगमा पहिलो जित निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर