चीनको प्रतिबद्धताअनुसार लगानी आउन नसक्नुमा प्रधानमन्त्रीले देखाए सरकारकै कमजोरी (भिडिओ) – Nepal Press

चीनको प्रतिबद्धताअनुसार लगानी आउन नसक्नुमा प्रधानमन्त्रीले देखाए सरकारकै कमजोरी (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरू गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलवार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल-चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

नेपालबाट आयुर्वेदिक औषधि, तरकारी, चिया, मासुलगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउन पनि उनले आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँनयाँ प्रविधिको आवश्यकता रहेको छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिवद्ध रहेको छ । पछिल्लो समयमा चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ ।’

नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाको भन्दै उनले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *