अमेरिकामा जस्तै नेपालमा फेरि बैंक डुब्ने खतरा छ त ? – Nepal Press

अमेरिकामा जस्तै नेपालमा फेरि बैंक डुब्ने खतरा छ त ?

नेपाली बैंकहरुमा खराब कर्जाको समस्या बढे पनि अन्य अवस्था मजबुत छ

काठमाडौं । संसारकै शक्तिशाली राष्ट्र अमेरिकामा एकपछि अर्को बैंक डुबेको खबरले विश्वकै बैंकिङ क्षेत्रमा तरंग ल्याएको छ । नेपालमा पनि बैंकहरु डुबेको विगत भएकाले अहिले सर्वत्र त्रास बढेको छ ।

अमेरिकामा हालसम्म ३ वटा बैंक डुबेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा सिल्भरगेट, सिलिकन भ्याली र सिक्नेचर बैंक रहेका छन् ।

यो खबरबीच नै नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा जारी गरेपछि नेपालको बैंकिङ क्षेत्रमा समेत शंका पैदा भएको छ । तर, राष्ट्र बैंकले नेपालका बैंकहरुलाई जोखिममा पर्न नदिन पूर्वसावधानीको रुपमा अन्तिम ऋणदाता सुविधालाई लिएको स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बैंकहरु संकटमा पर्न लागेको नभई सावधानी अपनाएको बताए । करिब नौ महिनाको तयारीपछि अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली ल्याएको उनको भनाइ छ ।

नेपालको बैंकिङ क्षेत्रमा पनि केही समयदेखि ऋणीहरुले ब्याजदर घटाउन दबाब दिइरहेका छन् । केहीले बैंकको ऋणसमेत नतिर्ने भनिरहेका छन् । नेपालको इतिहासमै बैंकिङ क्षेत्रविरुद्ध ऋणीहरु सडकमै उत्रिएको पहिलो पटक भएको विज्ञहरु बताउँछन् ।

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल अमेरिकामा जस्तो नेपालको बैंकमा समस्या नआउने दाबी गर्छन् । अमेरिकामा डुबेका बैंकहरुले क्रिप्टोकरेन्सी र घरजग्गामा बढी लगानी गरेकाले समस्या भएको उनको तर्क छ ।

नेपालमा पछिल्लो समय मर्जरका कारण बैंकहरुको जोखिम बहन गर्ने क्षमता बढेको उनको बुझाइ छ । ‘पूँजी वृद्धि नगरेको भए समस्या आउन सक्थ्यो’, पूर्वगभर्नर नेपालले भने, ‘तर, अहिले एउटै बैंकको पूँजी ३० अर्बभन्दा माथि पुगिसकेको छ ।’

उनका अनुसार नेपाली बैंकहरुमा खराब कर्जाको समस्या बढे पनि अन्य अवस्था मजबुत छ । ऋण लिएर पैसा खान्छु भन्ने नजिर विश्वमै नभएकाले ऋण तिर्दिनँ भन्नेहरुले पनि ऋण तिर्नैपर्ने डा. नेपाल बताउँछन् ।

यसअघि नेपालमा १८ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त थिए । ती संस्था सुधार्न राष्ट्र बैंकले समस्याग्रस्त रिजोलुसन महाशाखा नै गठन गरेर काम थालेको पूर्वगभर्नर डा. नेपाल बताउँछन् ।

‘नेपालमा पनि बैंक डुबेको थियो । मेरो पालामा समस्यामा परेका सबै बैंकका समस्या समाधान गरिएको थियो’, उनले भने, ‘तर, अब यस्तो अवस्था आउँदैन ।’

खराब कर्जा २.३५ प्रतिशत

राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब १७ अर्ब कर्जा लगानी गरेका छन् । यसमा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरुको छ । वाणिज्य बैंकहरुले ४७ खर्ब ४७ अर्ब कर्जा लगानी गरेका छन् । जसमा १ खर्ब ११ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ खराब कर्जा रहेको छ ।

चालू आर्थिक वर्षको ६ महिना (पुस मसान्त) सम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा २.३५ प्रतिशत हो । यसबीचमा बैंक तथा वित्तीय संस्थाहरुले ५३ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका छन् ।

एनएमबी बैंकका सीईओ सुनिल केसीले आर्थिक मन्दीका कारण कर्जा उठाउन समस्या भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *