काठमाडौंमा दूतावास खोल्न सभामुख घिमिरेले गरे बहराइनका समकक्षीसँग आग्रह – Nepal Press

काठमाडौंमा दूतावास खोल्न सभामुख घिमिरेले गरे बहराइनका समकक्षीसँग आग्रह

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेटवार्ता गरेका छन् ।

अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन् ।

सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए । उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे ।

‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उनको भनाइ थियो ।

सभामुख घिमिरेले नेपाल-बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिएका थिए ।

जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारितापूर्वक काम गरेकोमा खुशी व्यक्त गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर