शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता (तस्बिरहरू) – Nepal Press

शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता (तस्बिरहरू)

रोहितको अर्धशतक, ललितले लिए ५ विकेट

काठमाडौं । लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए ।

ललित राजवंशीको पाँच विकेट प्रेरित आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा यूएईलाई २२.५ ओभरमा अलआउट गर्दै एकदिवसीय मान्यता सुरक्षित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई निरिह पार्दै नेपालले १७७ रनको शानदार जित दर्ता गर्यो । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।

जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ ।

शृंखला क्निस्विप गर्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी)लाई ५२ रनले पराजित गरेको थियो ।

नेपालको बलिङसामु टिक्न नसेकेको यूएईका ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । आयान अफजल खानले ३३ बल खेल्दा समान २ चौका र छक्काको मद्दतमा सर्वाधिक २९ रन योगदान गरे । असवान्थ भलथापा १४ रनमा पभेलियन फर्कँदा कार्थिक मियाप्पन ११ रनमा अविजित रहे ।

नेपालका ललित राजवंशीले सर्वाधिक पाँच विकेट लिए । उनले ७.५ ओभरमा २ मेडन राख्दै २० रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चिएर दुई विकेट लिँदा गुलसन झा, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

यसअघि, पहिला ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेल र मध्य क्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट साझेदारिमा २ सय ४८ रनको योगफल तयार पारेको थियो ।

शीर्ष क्रमका तीन ब्याटरलाई सस्तैमा गुमाएको थियो । चौथो नम्बरमा क्रिजमा आएका कप्तान रोहित पौडेलले आरिफ सँग छैटौं विकेटका लागि ८६ रनको साझेदारि गर्दै सर्वाधिक ७७ रन बनाएर नेपालको योगफल मजबुत बनाएका थिए । रोहितले आर्यन अफजल खानको बलमा क्याचआउट हुनु अघि, १ सय १२ बल खेल्दै ९ चौका प्रहार गरे ।

आरिफ ५२ बलमा ५ चौकासहित ४३ रन बनाए रोहन मुस्तफाको बलमा क्याचआउट हुँदा ७ रनले अर्धसतक पुरा गर्न चुके । त्यसअघि रोहितले पाँचौं विकेटका लागि भिम सार्कीसँग ५४ रनको साझेदारि गरेका थिए । भिम ३७ बलमा ४ चौकाको मद्दतमा २९ रन बनाएर आउट भए ।

भिम र रोहितको महत्वपूर्ण साझेदारीसँगै नेपालको इनिङ सम्हालिएको थियो । तल्लोक्रमका ब्याटर गुलसन झा र दिपेन्द्रसिंह ऐरीको बिष्फोटक ब्याटिङसँगै नेपालले चुनौतीपूर्ण योगफल तयार पार्न सफल भयो ।

गुलसन ३२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाएर बोल्डआउट भए । दीपेन्द्रले १९ बलमा २ छक्का र ३ चौकासहित ३४ रनको विष्फोटक इनिङ खेले । यूएईका आर्यान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जावर फरिदले दुई/दुई विकेट लिँदा, आर्यन लाक्रा र जुनाइद सिद्धकीले समान एक विकेट लिए ।

लगातार दुई जित निकालेको नेपालले तेस्रो खेलमा भोलि सोमबार पीएनजीसँग र अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।

तस्बिरहरु : उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर