उपराष्ट्रपतिमा गठबन्धनका तीन दलको दाबी, मनोनयनअघि औपचारिक निर्णय गर्ने तयारी – Nepal Press

उपराष्ट्रपतिमा गठबन्धनका तीन दलको दाबी, मनोनयनअघि औपचारिक निर्णय गर्ने तयारी

काठमाडौं । नौ दलीय सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा तीन जनाको दाबी परेको छ। गठबन्धनबाट जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको भनिएपछि जसपासहित तीन दलले उम्मेदवार तय गरेका छन् ।

जसपाले बिहीबार नै पार्टी संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, आज नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आआफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेका छन् ।

उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अगाडि सार्ने भनेर निर्णय गरेका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको उमेरको कारणले सम्भव भएन । तर, जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चुनावअघिकै गठबन्धन ब्युँताउने बेलामा जसपालाई उपराष्ट्रपति दिने सहमति बनेको जसपा प्रवक्ता मनिष सुमन बताउँछन् । उनले कांग्रेस, माओवादी र नेकपा एससहित चार दलको शीर्ष तहमा जसपालाई उपराष्ट्रपति दिने सहमति बनेको बताए ।

तर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको आजै बिहान बताएका थिए । तर, प्रवक्ता सुमन त्यो कुरा सत्य नभएको बताउँछन् ।

उनी भन्छन्, ‘हामीले शीर्ष चार दलबीच सहमति गरेका हौं । पछि थपिएका दलहरुले अहिले उम्मेदवार तय गर्नुभएको हो । त्यसबारे छलफल हुन्छ ।’

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेपछि जसपाले महिला उम्मेदवार बनाए हुन्थ्यो भन्ने गठबन्धन दलको बुझाइ छ । तर, जसपा अध्यक्ष उपेन्द्र यादवको स्वार्थको कारणले त्यो सम्भव छैन । यादवलाई उपराष्ट्रपतिमा पठाएर बारा २ मा हुने उपनिर्वाचनबाट संसद छिर्ने उनको दाउ छ ।

जुन कुरामा निर्वाचन आयोगले पनि चासो राखेको छ । संविधानमा फरक लिंग वा समुदाय भनिएपछि महिला नै उम्मेदवार बनाउन निर्वाचन आयोगले दबाब बढाएको छ । तर, कांग्रेस उपसभापति खड्का संविधानले उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको हुनुपर्छ भनेर प्रस्ट भनेको दाबी गर्छन् ।

उनले भने, ‘तर, फरक समुदायको राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्छ भनेर संविधानले जे व्यवस्था गरेको छ । त्यो व्यवस्थाको विपरीत निर्वाचन आयोगले निर्णय गरेको छ । मिडियामा त्यसबारेमा प्रमुख आयुक्तले बोल्नुभएको भन्ने खबर आएको छ । उहाँको निर्णय संविधानको व्यवस्था अनुकूल छैन ।’

निर्वाचन आयोगको विज्ञप्तिमा पनि फरक लिंग वा समुदाय हुनुपर्छ भनिए पनि प्रमुख आयुक्तले बोलेको कुरा संविधान विपरीत भएको उनले तर्क गरे ।

‘आयोगको विज्ञप्तिपछि प्रमुख आयुक्तज्यूको प्रेसमा बोलेको कुरा आएको छ । उहाँहरुले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा मिल्दैन । संविधानले फरक लिंग वा समुदाय भनेर प्रस्ट भनेको छैन । त्यसकारण पुरुप राष्ट्रपति हुँदा महिला उपराष्ट्रपति हुनैपर्छ भन्ने व्यवस्था गरेको छैन’, खड्काले भने ।

उनले गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे बैठक बसेर टुंग्याउने बताए ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झा पनि उपराष्ट्रपतिको उम्मेदवारबारे गठबन्धनको बैठकले टुंग्याउने बताउँछन् । उनी भन्छन्, ‘हामीले हाम्रो तर्फबाट तयारी गरेका छैनौं । अब मोर्चाबाट जे निर्णय हुन्छ। हाम्रो त्यसैमा समर्थन हुन्छ ।’

चैत ३ गते हुने निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया

One thought on “उपराष्ट्रपतिमा गठबन्धनका तीन दलको दाबी, मनोनयनअघि औपचारिक निर्णय गर्ने तयारी

  1. उपराष्ट्रपतिको उम्मेद्वार हुन न्यूनतम उमेर ४५ वर्ष हुनुपर्छ भन्ने छ संविधानमा । अनि ३९ वर्षकी महिला नेतृलाई उम्मेद्वार बनाउने भनेर निर्णय गर्ने पार्टीको ज्ञानको हालत के रहेछ भनेर पुष्टि भयो । र अर्को कुरा हिजो उदाएर आजै, त्यै पनि उमेर नै नपुगि उप राष्ट्रपति खान कति हतार हो नि ! राजनीति नै दान रहेछ । थप, माग पूरा नभइ केही नगर्ने भनेको त मौसमी कुरा पो रहेछ त । नेता जेलमा भए पनि मतलव छैन उपराष्ट्रपति खाईहाल्नुपर्ने । हुन त दिल्लीले आदेश दियो र निर्णय गरिहालियो । तर नमिल्ने गरियो । अब जनताले यस्ता पार्टी र तिनका नेतालाई ठेगान नलगाइ भो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर