मतदाता नामवलीमा विवादपछि ठाकुर राम क्याम्पसमा आगजनी, स्ववियू निर्वाचन प्रक्रिया स्थगित – Nepal Press

मतदाता नामवलीमा विवादपछि ठाकुर राम क्याम्पसमा आगजनी, स्ववियू निर्वाचन प्रक्रिया स्थगित

जनकपुरधाम । पर्साको वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि प्रकाशित गरिएको मतदाता विद्यार्थीको नामवली विवादित बनेको छ ।

प्रकाशित नामवलीमा फर्जी विद्यार्थीको नाम पनि राखिएको भन्दै असन्तुष्ट विद्यार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन् । आगजनीबाट फर्निचर र केही कागजात जलेर नष्ट भएको छ ।

मतदाता विद्यार्थी नामवली र निर्वाचन विषयमा क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विभिन्न विधार्थी संगठन तथा समूहका नेताहरुबीच छलफल चलिरहेको थियो । सो क्रममा फर्जी विद्यार्थीलाई नामवलीमा राखेको भन्दै एक समूहले पेट्रोल छर्केर आगजनी गरेको बुझिएको छ ।

प्रहरीले आगजनी गरेको आरोपमा तीन विद्यार्थी नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पक्राउ पर्नेमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूका नेता सुजित गिरी, अनेरास्ववियू क्रान्तिकारीका नेता शिवम साह र अनेरास्ववियुका नेता अभिषेक चौहान रहेका छन् ।

घटनापछि क्याम्पस प्रमुख डा. उमेश कुमार चौरसियाले स्ववियू निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका छन् । उनले मतदाता विद्यार्थी नामावलीमाथि छानविन गर्न रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा समितिसमेत गठन गरेका हुन् ।

९ सदस्यीय रहेको उक्त छानबिन समितिले मतदाता नामवलीमा छानबिन गरी ३ दिनभित्र प्रतिवेदन दिने क्याम्पस प्रमुख चौरसियाले बताए ।

उनका अनुसार छानबिनका क्रममा जानी जानी गल्ती गरिएको पाइएमा सम्बन्धित दोषीलाई कारबाही गर्ने र अन्तिम मतदाता नामवली प्रकाशित भएपछि निर्वाचनको अन्य कार्यक्रम संशोधित तालिका प्रकाशित भई कार्यान्वयण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर