हारजंग हत्याकाण्डको २४ वर्ष- ढाँटे पुनको घरलाई ग्यास च्याम्बर बनाएर माअ‍ोवादीले मारेका थिए ८ गाउँले – Nepal Press

हारजंग हत्याकाण्डको २४ वर्ष- ढाँटे पुनको घरलाई ग्यास च्याम्बर बनाएर माअ‍ोवादीले मारेका थिए ८ गाउँले

प्रदीप ज्ञवाली नेतृत्वको समितिले के भन्यो ?

रुपन्देही । नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको ठाउँ रोल्पा । युद्ध सुरु गरेको ४ वर्षपछि नै माओवादी र उनीहरुलाई दबाउने अभियान थालेको नेपाल प्रहरीको ज्यादतीको विरोध गरेका थिए स्थानीयले ।

माओवादी आन्दोलनको विरोध गरेको भन्दै २०५५ साल फागुन २४ गते तत्कालीन हारजंग गाविस हालको लुंग्री गाउँपालिका वडा नं ७ मा १६ जना स्थानीयलाई घरमै थुनेर आगो लगाएका थिए । त्यस्तै भाग्न खोज्नेलाई गोली हानिएको थियो ।

रोल्पाको हारजंग गाउँ- तत्कालीन हारजंग गाविस र हालको लुंग्री गाउँपालिकाको वडा- ७ मा नेकपा एमालेमा आस्था राख्नेहरूको बाहुल्य थियो । रोल्पाबाट नेकपा एमाले केन्द्रीय सदस्य बनेकी प्रतिनिधिसभा सदस्य ईश्वरी जिएमका अनुसार हारजंगमा एमालेको बाहुल्य देखेपछि माओवादीले सो गाउँलाई निशाना बनाएको थियो ।

माओवादीले स्थानीयको घरमा माओवादीका नारासहित जबरजस्ती भित्तेलेखन गरिदिने र अर्को दिन सेना-प्रहरी आएर गाउँलेलाई चरम यातना दिन्थे । दुबै पक्षको चपेटामा पीडित हारजंगबासी प्रतिकारमा उत्रन बाध्य भए । स्थानीयले प्रतिकार समिति गठन गरेको पत्तो पाएपछि त्यहाँका गाउँलेलाई कडा सजाय दिने योजना बनाएको थियो माओवादीले ।

कसरी भएको थियो घटना ?

एमाले नेता ईश्वरीका अनुसार २०५५ साल फागुन २६ गते साँझ हारजंगका एमाले कार्यकर्ताले पार्टीको बैठक गर्न बलबहादुर रोकाको घर छनोट गरे । बेलुकी सबैले आ-आफ्नो घरमा खाना खाएर भूमिगत शैलीमा बलबहादुर रोकाको घरमा जम्मा भए र पार्टी बैठक सुरू गरे ।

उनीहरु माओवादीको भित्ते नारा मेटाएर सेना प्रहरीबाट कसरी बच्ने, पार्टीलाई हारजंगमा कसरी व्यवस्थित गर्ने, माओवादीले ज्यादती गरिरहे राजनीतिक रूपमा कसरी प्रतिकार गर्नेलगायतका विषयमा गहन छलफल गर्दै थिए । बैठक बसेकाहरुले थाहै नपाउने तरिकाले माओवादी नेता-कार्यकर्ताले बलबहादुरको घरलाई घेराबन्दी गरे । सुरूमा माओवादीहरूले खरले छाएको बलबहादुरको घरको ढोकाको चुकुल लगाए ।

माओवादीले घर घेरेको थाहा पाएपछि बैठक बसिरहेका एमाले कार्यकर्ताहरू हतास भए । कसरी भाग्ने भनी योजना बनाए । कोही ढोकाबाट भाग्न खोजे । कोही माथिल्लो तलाको झ्यालबाट हाम फालेर भाग्नेतर्फ लागे । तर, चारैतिर सयौंको संख्यामा माओवादीका कार्यकर्ताले घर घेरेकाले उनीहरूले कतैबाट पनि भाग्ने मौका पाएनन् ।

एमाले कार्यकर्ताहरु कसरी बाहिर निस्कने भन्दै गाउँलेहरूले सुन्ने गरी चिच्याइरहेका थिए । तर, माओवादी झनै निर्मम बन्यो । अन्ततः बलबहादुरको घरमा माओवादीले आगो लगायो । खरले छाएको घर क्षणभरमै सल्कियो । केहीले हाम फालेर बाहिर निस्कने प्रयास गरे । तर, त्यत्तिकैमा गोली चल्यो ।

आगो र गोली सँगै चलेपछि भित्र रहेकाहरूको केही चलेन । अत्यन्तै विभत्स तरिकाले एमाले कार्यकर्ताहरू जलेर मरेका थिए । सो घटनामा १४ वर्षीय बालक चैते पुनसहित ६५ वर्षीय पुष्टबहादुर गिरी, ५५ वर्षीय अमृतबहादुर गिरी, ६० वर्षीय ढाँटे पुन, ४२ वर्षीय मनबहादुर गिरी, ५० वर्षीय एैभान पुन, ३३ वर्षीय बेगमबहादुर पुन, ३५ वर्षीय तिर्खु गिरी गरी ८ जनाको मृत्यु भएको थियो ।

सोही आगोमा जलेर घाइते गोपाल गिरीको २०५६ साउन १ गते मृत्यु भएको थियो । घटनामा परेर घाइते र मानसिक हिसाबले विक्षिप्त भएकी खिरू पुनको पनि केही महिनापछि मृत्यु भएको थियो ।

सोही घटनामा परी घाइते भएका हस्ते रोका अहिलेसम्म हिँड्डुल गर्न र बोलचाल गर्न नसक्ने गरी पूर्ण अपांग रहेका छन् । अन्य ५ जना उक्त घटनामा घाइते भएका थिए । ३ जनाले अपहरणमा परी चरम यातना पाएको एमाले नेता जिएमले उल्लेख गरेकी छन् ।

कसरी भयो छानबिन ?

हारजंग हत्याकाण्डको भोलिपल्टै घटनाबारे चर्चा सुरु भयो । तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले नेता झलनाथ खनालको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, हरि फुँयाल र प्रकाश ज्वालासहित ५ जनाको घटना छानबिन समिति बनाए ।

एमालेले बनाएको छानबिन समितिले ‘हारजंगमा बलबहादुरको घरलाई ग्यास च्याम्बर बनाएर हिटलरी शैलीमा आठ-आठ जना नेपाली समूहलाई जिउँदै डढाएर मार्दा गुञ्जिएको चित्कारले माओवादीहरूलाई बाँचुञ्जेल निरन्तर लखेटिरहनेछ’ भन्ने निष्कर्षसहित प्रतिवेदन पार्टी नेता माधवकुमार नेपाललाई बुझाएको थियो ।

पत्रकार र मानव अधिकारकर्मीहरूले स्थलगत अध्ययन र अनुगमन गरी गम्भीर प्रकृतिको मानव अधिकारको उल्लंघन भएको सम्बन्धित निकायमा रिपोर्टिङ गरेका थिए ।

२०६३ साल मंसिर ५ गते सरकार र तत्कालीन नेकपा माओवादीबीच द्वन्द्वका क्रममा दुबै पक्षबाट बेपत्ता पारिएका र हारजंग घटना जस्तै गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाहरूको वास्तविकता छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग बनाइ ६० दिनभित्र घटनाको वास्तविकता सार्वजनिक गरेर पीडितलाई न्याय तथा पीडकलाई कारबाही गर्नेलगायतको विस्तृत शान्ति सम्झौता भएको थियो ।

तर, १७ वर्ष बित्दा पनि सम्झौता पालना नभएको एमालेको भनाइ छ ।

के भन्छन् एमाले महासचिव पोखरेल ?

एमाले महासचिव तथा तत्कालीन घटनाको छानबिन समितिका सदस्य शंकर पोखरेल माओवादी युद्धको सबैभन्दा ठूलो आपराधिक घटना भए पनि चर्चा कम भएको र पीडितका परिवारले न्याय नपाएको बताउँछन् ।

माओवादी र सुरक्षाकर्मीको ज्यादतीविरुद्ध प्रतिकारमा उत्रेका हारजंगवासीले न सुराकी न त खुराकी भनेर संगठित रुपमौआन्दोलन सुरु गरेपछि माओवादीले राजनीतिक प्रतिरोध सहन नसकेर गरेको मानवताविरुद्धको घटना भएको उनको भनाइ छ ।

‘यो माओवादी युद्धको सबैभन्दा ठूलो विभत्स र क्रूर घटना थियो । तर, अरु घटना जस्तो यसले चर्चा पाउँदैन, मिडियाको पनि पहुँच कम भएर हुनसक्छ’, महासचिव पोखरेलले भने, ‘एमालेले छानबिन गराएर तत्कालीन विद्रोही पार्टीलाई घटना स्वीकार गर्न लगाएर आत्मालोचना गराएको थियो । पीडकलाई कारबाही गर्ने भनिएको थियो ।’

मानवताविरुद्धको अपराधलाई एमालेले कहिल्यै क्षमा दिन नसक्ने बताउँदै उनले भने, ‘पीडित परिवारलाई न्याय दिन र पीडकलाई कारबाही गर्न निरन्तर दबाब दिइरहेका छौं ।’

हारजंग जस्तै देशभरका ६३ हजार ७१८ वटा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाको निवेदन सत्य निरूपण तथा मेलमिलाप आयोगमा थन्किएको छ । ३ हजार २८८ जना बेपत्ता पारिएका व्यक्तिहरूको अज्ञात अवस्थाबारेको निवेदन बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा अलपत्र छ ।

प्रदीप ज्ञवाली नेतृत्वको समितिले के भन्यो ?

एमालेले सो घटनाको छानविन गर्न प्रदिप ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यी समिति बनाएको थियो । जसको सदस्यमा वीरवहादुर सिंह, खगराज अधिकारी,अधिवक्ता टीकाराम भट्टराई र कुमार दसौंदी थिए । झलनाथ खनाल नेतृत्वको समिति भने त्यसको २ वर्षपछि समग्र माओवादी हिंसा र यसको समाधानका लागि अध्ययन गर्न बनेको थियो ।

सो समितिले आफ्नो प्रतिवेदनमा घटनाबारे एक ठाउँमा यसरी उल्लेख गरेको थियो ।

हारजंग हत्याकाण्ड रोल्पा

०५५ साल माघ २७ गते विहान ५ बजे अत्यन्त ठूलो सशस्त्र तयारीका साथ माओवादी छापामार’ हरु हारजंग गाउँमा प्रवेश गरे । रातभरी गाउँको गस्ती गरेर थाकेका गाउँ सुरक्षा समितिका सदस्यहरु कमारा भन्ने बलवहादुर रोकाको घरमा सुतिरहेका थिए । माओवादी जत्थाले त्यही बेला अचानक घेरा हाले । अनि ढोकामा बाहिरबाट चुकुल लगाएर घरमा आगो लगाइदिए । आगो लागेको थाहा पाएपछि भित्र सुतेकाहरु उठेर बाहिर निस्कने प्रयास गरे । तर, आगोबाट बच्न बाहिर निस्कनेहरु पालैपालो माओवादीको गोलीको शिकार बन्न पुगे । आगो निभाउन आउने गाउँलेहरु पनि हत्यारो जत्थाको कुटपिट र आक्रमणमा परे ।

यसरी एउटै थलोमा डढेर तथा गोली लागेर आठ जना एमाले कार्यकर्ताहरुले आफ्नो अमूल्य जिन्दगी गुमाउनु भयो । उक्त घटनामा तीनजना गंभीर रुपमा घाइते बन्नु भयो भने अन्य सात जना आक्रमण र आगलागीमा परी सामान्य घाइते बन्नु भयो ।

त्यसपछि माओवादी जत्थाले गाउँमा अराजकता र लुटपाट मच्चाउने जस्ता काम पनि ग¥यो । यसरी माओवादीका नाममा हारजंग घटना आधुनिक मानव सभ्यताको कलंकका रुपमा अंकित बन्न पुग्यो । आगलागिबाट घर र घरभित्र रहेको सम्पूर्ण सम्पत्ति नष्ट भयो । उक्त घटनाको सर्बत्र निन्दा भएपछि माओवादी जत्थाले कथित छानविन गर्ने भनेर जनआक्रोशबाट वच्ने प्रयत्न गरेको थियो । तर त्यो कथित छानविनको रिपोर्ट सार्वजनिक नगरी हारजंग घटना गलत भको रए संलग्न छापामारहरु माथि कारबाही गरिएको विवरण सार्वजनिक गरेर माओवादीले आफ्नो अपराध स्वीकार गर्न पुगेको छ । तर घटनामा संलग्न युद्ध अपराधी’हरुलाई गरेको कारवाहीको विवरण जनताले थाहा पाउन सकेका छैनन् ।

हारजंगमा बलवहादुर रोकाको घरलाई “ग्यास च्याम्वर” बनाएर हिटलरी शैलीमा आठआठ जना नेपाली समूहहरुलाई जिउँदै डढाएर मार्दा गुञ्जिएको चित्कारले माओवादीहरुलाई बाँचुन्जेल निरन्तर लखेटिरहने छ । उक्त घटनामा ८ जनाको हत्या भयो, १०जना घाइते भए र ३ जनालाई अपहरण गरिएको थियो । ती मध्ये एक जना अपहरणबाटै भाग्न सफल हुनु भयो भने दुई जनालाई चरम यतना दिएर छाडिएको थियो। घाइते भएका मध्ये हस्ते रोकाको केही समय पछि उपचार गर्दा गर्दै मृत्य भएको थियो । यसका साथै माओवादीहरुको यतानाको कारणले केही महिना पछि श्रीमति खिरु पुनको समेत मृत्यु हुन पुगेको थियो । यसरी एकै घरमा आतंकारी जत्थाको शिकार हुनु भएका बहादुर सपूतहरु निम्न अनुसार हुनुहुन्छ :

१. पुष्टबहादुर (पुष्टे) गिरी, उमेर ६५ वर्ष

२. अमृतबहादुर गिरी, उमेर ५५ वर्ष

३. ढाँटे पुन, उमेर ६० वर्ष

४. मनबहादुर गिरी, उमेर ४२ वर्ष

५. एैभान पुन, उमेर ५० वर्ष

६. चैते पुन, नाबालक उमेर १४ वर्ष

७. बेगमबहादुर पुन, उमेर ३३ वर्ष

८. तिर्खु गिरी, उमेर ३५ वर्ष

९. हस्ते रोका, उमेर ४९ वर्ष

१०. श्रीमती खिरु पुन

(सच्याइएकोः यसअघिको समाचारमा हारजंग हत्याकाण्डको छानबिन गर्न एमालेले झलनाथ खनाल नेतृत्वमा समिति बनाएको भन्ने परेकोमा त्यसबेला प्रदीप ज्ञवाली नेतृत्वको समितिले छानबिन गरेको पाइएकाले सच्याइएको छ ।)
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर