‘छड्के’बाट दर्शकलाई निराश बनाएको ‘अनमोल’ को स्वीकारोक्ति, छक्कापञ्जालाई दिए बधाई – Nepal Press

‘छड्के’बाट दर्शकलाई निराश बनाएको ‘अनमोल’ को स्वीकारोक्ति, छक्कापञ्जालाई दिए बधाई

१० औं फिल्मबाट मेरो करिअरको नयाँ सत्र सुरु हुन्छ

काठमाडौं । घरेलु बक्स अफिसमा पानीसम्म भन्न नपाएको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘छड्के २.०’ को असफलतापछि पहिलोपटक उनले यस चलचित्रबारे आफ्ना धारणाहरु सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शुभचिन्तकहरुसँग माफी मागेका छन्। चलचित्र ‘२.० छड्के’ले दर्शकलाई मात्र नभएर आफूलाईसमेत निराश बनाएको उनको भनाई छ।

उनी लेख्छन, ‘मलाई थाहा छ ,मैले ‘२.० छड्के’ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाए। जुन दर्शकहरुको साथका कारण म यहाँ आइपुगे उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुखी भएको छु।’

‘२.० छड्के’ अनमोलको नवौँ सिनेमा हो। नवौँ सिनेमासम्म आइपुग्दा परिपक्व हुनुपर्नेमा आफू झनै चुकेको उनको दाबी छ। यो चलचित्रपश्चात आफ्नो जिन्दगीमा नयाँ बिहानी छाउने कुरा उनले आफ्नो स्टाट्समा उल्लेख गरेका छन्। उने लेखेका छन्, ‘छड्के छनौट गर्नु मेरो जिन्दगीको ठूलो निर्णय थियो। बिस्वश्त हुनुहास्, यो समय पनि बितेर जानेछ। घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुनेछ। म भोलीको सुनौलो बिहानी म मेरो दर्शकसँग साट्नेछु। दुखेको घाउहरुमा मलम लगाउनेछु।’

‘अब नवौँपछिको दशौ सिनेमा दशपछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात आज म शुन्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौँ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ,’ उनी थप्छन।

शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहिरहे आगामी दिनहरुमा दर्शकलाई निराश नबनाउने कामहरु गर्ने उनले बताएका छन्।

उनले आफ्नो चलचित्र फ्लप भएपनि सोही मितिमा रिलिज भएको अक्रो चलचित्र ‘छक्का पञ्जा ४’लाई भने बधाई दिएको छन्। चलचित्रले अपार सफलता पाएकोमा सम्पूर्ण टिमलाई उनले शुभकामना व्यक्त गरेका छन्। अनमोलको ‘छड्के’ फ्लप भएपनि दीपक–दीपाको ‘छक्का पञ्जा ४’ले भने घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेका छ।

चलचित्र ‘छड्के २.०’ वर्ष २०७९ को बहुप्रतिक्षित मानिएको थियो। चलचित्रमा अनमोल केसी भएकाले पनि दर्शकमा चलचित्रप्रति एउटा छुट्टै कौतुहल थियो। कति दर्शकहरु अनमोलकै कारण चलचित्र हेर्न हलसम्म पनि पुगे।

तर सोचेजस्तो कथावस्तु र अभिनय नहुँदा दर्शकहरु हलबाट निराश भएर निस्कनु परेको थियो। मेगास्टारको रुपमा स्थापित अनमोलले राम्रो चलचित्र छनौट गर्न नसकेको भन्दै दर्शकले उनलाई थुप्रै आलोचनासमेत गरे। जसको परिणाम स्वरुप चलचित्र हलमा लागेको केही समयमा नै हलबाट उत्रियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *