प्रधानमन्त्रीको अध्यक्षतामा माओवादी घटकको बैठक : सामूहिक दबाबका कार्यक्रम घोषणा (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको अध्यक्षतामा माओवादी घटकको बैठक : सामूहिक दबाबका कार्यक्रम घोषणा (भिडिओ)

काठमाडौं । माओवादी घटकका पार्टीहरूले फागुन २८ गते (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिकरूपमा खण्डन गर्ने भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

पछिल्लो समय शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले आपत्ति जनाए ।

उनले भने, ‘आज बिहान पूर्वमाओवादी घटकहरु आठ दलको बैठक बस्यो । शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्तिहरू देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउने, शान्ति प्रक्रियाका कामहरू छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरू मिलेर भन्ने कुरा भएको छ । ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’

शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्ति देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको पनि गुरुङले जानकारी दिए ।

‘अदालतको कुरा कानूनी प्रक्रियाअनुसार नै अघि जान्छ । शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो प्रवृत्तिका बारेमा सजग र सतर्क सबै भएका छन् । शान्ति प्रक्रियालाई उल्ट्याउन खोजेको नै हो भने शान्ति प्रक्रिया समाप्त भयो भन्न खोजेको हो भने अर्कै कुरा हुन्छ । शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्नुपर्छ भन्ने कुरा भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर