अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो : राष्ट्र बैंक – Nepal Press

अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन् ।

राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सीईओ वर्कशपमा बोल्दै श्रेष्ठले मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा सहकारीलाई स्वीकार गरिए पनि त्यो व्यवहारमा नदेखिएको बताए ।

अर्थतन्त्रमा सहकारीको ठ्याक्कै योगदान कति हो ? कहाँ कति सहयोग पुगेको छ ? भन्दै उनले प्रतिप्रश्न गरे ।

उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउनुपर्ने हो तर परिणाममा नदेखिएको बताए । सहकारी संघ संस्थाहरूले समेत बैंकले जस्तै घरजग्गामा, धितोपत्र बजारमा लगानी गर्दा समस्या आएको उनको भनाई थियो ।

‘सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो ? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन् गरिब बनाउने भन्ने त होइन होला । कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादनमुखी हुन्छ संस्थाले त्यतातिर सोच्ने हो’, उनले भने ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको मात्र होइन सहकारीको पैसा समेत सेयर बजारमा गएको हुनसक्ने आशंका कार्यकारी निर्देशक श्रेष्ठले व्यक्त गरे ।

सोही अवसरमा श्रेष्ठले कोभिडपछिको विश्व परिदृश्य रुस र युक्रेनबीचको युद्धले निम्त्याएको आर्थिक संकटले समेत नेपाली अर्थतन्त्र समस्यामा परेको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले संघ र राज्यको संयुक्त प्रयासबाट सहकारीमा सुशासन ल्याउने बताए ।

सहकारी संघ संस्थाहरूको नेतृत्वकर्ता व्यवस्थापकले सही तरिकाले वित्तीय कारोबार गरे कुनै पनि संस्थामा समस्या नआउने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *