घरेलु मैदानमा नेपालको निर्णायक परीक्षाः ओडीआइ मान्यता जोगाउने न्यूनतम लक्ष्य – Nepal Press

घरेलु मैदानमा नेपालको निर्णायक परीक्षाः ओडीआइ मान्यता जोगाउने न्यूनतम लक्ष्य

सबै खेल जिते विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित

काठमाडौं। हजारौँ घरेलु दर्शक अनि शानदार प्रदर्शन। त्रिवि क्रिकेट मैदानमा मै हुँ भन्ने विदेशी टोलीहरु पनि पछिल्लो समय नेपालसामु निराश भइरहेका छन्। भलै उनीहरु खेलपछि भन्छन्, ‘यतिधेरै दर्शकमाझ खेल्न पाउँदा अभुतपूर्व अनुभव भयो। हामी फेरी यहाँ आउन चाहन्छौँ।’

तीन साताअघि विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसम्मिलित शृंखला सुरु हुनुअघि नेपाल अंक तालिकामा छैटौँ स्थानमा थियो। नेपालसँग २४ खेलबाट केवल १८ अंक थियो र सात टोलीमध्ये छेटौँ स्थानमा थियो। स्कटल्यान्ड पहिलो र नामिबिया तेस्रो स्थानमा थिए।

त्यो विन्दुबाट हेर्दा नेपाल तालिकाको शीर्ष तीनमा रहेर एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्न निकै गाह्रो देखिन्थ्यो। नेपालले प्रतियोगितामा खेलेका २४ मध्ये १४ खेलमा जित हात पार्न सकेको थिएन। तर लगभग तीन सातामा स्थिति फेरिएको छ।

नेपाल ३२ खेलबाट ३२ अंकसहित तालिकाको पाचौँ स्थानमा छ। विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिदेशीय शृंखलाका रुपमा बिहीबारबाट त्रिवि क्रिकेट मैदानमा यूएई, पपुआ न्यूगिनी-पीएनजी र नेपालसम्मिलित शृंखला सुरु हुँदै छ। यो शृंखलाका सबै चार खेल जितेको अवस्थामा नेपाल विश्वकपको विश्वस्तरको छनोटमा पुग्ने छ। तेस्रो स्थानमा रहेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ।

घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसम्मिलित शृखलामा नेपालले बेजोड प्रदर्शन गर्दै नेपालले यो स्मरणीय यात्राको सुरुवात गरेको थियो । दुवै टोली नेपालसँगका सबै चार खेलमा पराजित हुन पुगे। त्यसमा पनि नेपालले सुरुका तीन खेलमा लगातार २ सय ७४ भन्दा बढीको लक्ष्य पुरा गरेको थियो।

त्यसयता विश्वकप लिग-२ कै शृंखला खेल्न नेपाल, यूएई पुग्यो। यूएईमा घरेलु टोली र पीएनजी थिए। नेपालले पीएनजीसँगका दुवै खेल जित्यो भने यूएईसँग एक जित र एक हारको नतिजा निकाल्यो। यही नतिजाले नेपाल शीर्ष-३ भित्र पर्न हौसिएको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि हजारौँ दर्शकले घेर्ने त्रिवि क्रिकेट मैदानमा आफ्नो टोलीले सबै चार खेल जित्ने विश्वास व्यक्त गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा खेलेको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ६ खेलयता लगातार जित हात पारेको छ। गत नोभेम्बरमा नेपाल र यूएई तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा कीर्तिपुर मैदानमा भिडेका थिए। पहिलो खेलमा पराजित भएको नेपाली टोली त्यसपछिका लगातार दुई खेल जितेर शृंखला कब्जा गर्न सफल भएको थियो। त्यसयता कीर्तिपुर मैदानमा तीन साताअघि मात्र उत्रिएको हो।

पीएनजी ठिक एक वर्षअघि नेपालमा घरेलु टोलीसँग दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला र मलेसिया सम्मिलित तिन देशीय टी(२० अन्तर्राष्ट्रिय शृंखला खेल्न आइपुगेको थियो। त्यतिबेला पीएनजीले नेपालसँग भएका दुवै एकदिवशीय खेल जितेर शृंखला कब्जा गरेको थियो। अहिले नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ। त्यसो त यूएईले पनि नेपालसँगको पछिल्लो खेलमा हार ब्यहोरेको छ।

यूएई अंक तालिकामा ३२ खेलबाट ३१ अंक जोडेर छैटौँ स्थानमा छ। सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ। पीएनजीले यूएईमा घरेलु टोलीसँगका दुवै खेल जितेको थियो। विश्वकप लिग-२ को अंक तालिकामा शीर्ष ३ भित्र पर्न नसक्ने टोलीहरुले विश्वस्तरको छनोटमा पुग्न फेरि एउटा अवसर पाउनेछन्।

शीर्ष-३ भित्र नपरेका बाँकी चार टोलीसहित क्यानडा र जर्सीले प्ले अफमा प्रतिस्पर्धा गरेर त्यहाँबाट शीर्ष दुई टोलीले पनि विश्वकप छनोटको यात्रा तय गर्नेछन्। नेपालले यसअघि सन् २०१४ र २०१८ मा एकदिवशीय विश्वकपको विश्वस्तरको छनोट खेलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर