महिला पर्यटकको आगमनबाट ६८ वर्ष अगाडि सुरु भएको नेपालको व्यवसायिक पर्यटन युग – Nepal Press

महिला पर्यटकको आगमनबाट ६८ वर्ष अगाडि सुरु भएको नेपालको व्यवसायिक पर्यटन युग

काठमाडौं । आज मार्च ८ । अन्तर्राष्ट्रिय महिला दिवस । यो दिन नेपालको व्यवसायिक पर्यटन युगको दिवस पनि हो । आजभन्दा ६८ वर्ष अगाडि मार्च ८ कै दिन नेपालमा पर्यटन भिसा लाएर आएका महिलाहरु नै नेपालको व्यवसायिक पर्यटन युगका पहिला पर्यटक हुन् । नेपालमा स्वतन्त्र रुपमा घुम्न आउनेहरु त त्योभन्दा अगाडि पनि थिए । ट्राभल एजेन्सीको सहयोगमा, पर्यटक गाइडहरुका साथ र पर्यटक भिजामा आएकाहरु भने ती नै महिलाहरु थिए । उनीहरु पाका महिलाहरु थिए । सामुद्रिक यात्राबाट आएका उनीहरु भारतबाट भने हवाईजहाजमा नेपाल आएका थिए ।

तत्कालीन समयको विश्व चर्चित थोमस कुक एन्ड सन्सको माध्यमबाट बाह्र जना पर्यटक महिला नेपाल आएका थिए । दश जना अमेरिकी र दुई जना ब्राजिली महिलाहरु सन् १९५५ मार्च ८ तारिखका दिन बिहान ११ बजे गौचरन विमानस्थल (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) ओर्लिएका थिए । दुई इन्जिन भएको इन्डियन एयरलाइन्सबाट उनीहरु काठमाडौं ओर्लिएका थिए । उनीहरुको लागि दश जना पथप्रदर्शक तयार गरिएको थियो ।

काठमाडौंमा ओर्लिएर उनीहरुले दुई दिन बताएका थिए । अझ रोचक कुरा त पहिलो व्यवसायिक पर्यटकहरु नेपालमा आउँदा नेपालको पर्यटनका ब्रोसरहरु तयार भएकै थिएनन् । पर्यटन सूचनाहरु बनेकै थिएनन् । आउने, घुम्ने, रम्ने र जानेमात्रै भएको थियो ।

आजभन्दा ६८ वर्ष अगाडिको त्यो दिन नेपाली पर्यटनको खास युग हो भन्नेमा धेरै नेपालीहरुलाई जानकारी नै थिएन । यसबारेमा न्यूयोर्क टाइम्सले एक समाचार नै बनाएको थियो । सन् १९५५ मार्च ९ मा प्रकाशित न्यूयोर्क टाइम्सको हेडलाइन थियो- टुरिजम एज कम्स टु नेपाल अर्थात् नेपालमा पर्यटन युग सुरु । समाचारमा लेखिएको थियो, ‘नेपालका हातमा गन्ने थोरैमात्र मान्छेहरु नेपालको यो ऐतिहासिक क्षणका बारेमा अवगत थिए ।’ समाचारमा काठमाडौं पन्ध्रौं शताब्दीमै भएको भन्दै त्यहाँ केहीमात्रै कार र छिटफुटमात्रै ट्राफिक प्रहरी भएको उल्लेख गरिएको छ । टाउकोमा नाम्लो लाएर भारी बोक्ने चलनबारेमा समाचारमा लेखिएको छ ।

काठमाडौंलाई पध्रौं शताब्दीको शहर भनिएको समाचारमा काठमाडौंसम्मको हवाईयात्राको भने तारिफ गरिएको छ । भनिएको छ, ‘काठमाडौं आउन चाहने धेरै पर्यटकहरुको लागि हवाई यात्राको सबैभन्दा सुन्दर पक्ष हुनेछ । हवाईजहाजबाट पर्यटकहरुले समथर फाँट जंगलमा जोडिएको र हिमाली खण्ड सुरु भएको देख्नेछन् ।’ काठमाडौंको हवाई एप्रोच संसारका अन्य राजधानीहरुमा भन्दा जादुमयी हुनेसमेत समाचारमा उल्लेख गरिएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार नेपालको पहिलो व्यवसायिक पर्यटक आगमनको स्थानीय तयारी बोरिस लिसानेभिचले गरेका थिए । निर्वासित रुसी नागरिक बोरिसले तत्कालीन राजकुमार बसुन्धरासँग मिलेर रोयल होटल सञ्चालन गरेका थिए । बोरिस रुसबाट निर्वासित व्यक्ति हुन् । उनले युरोपबाट क्रमशः बेलायत शासित भारतसम्मको यात्रा गरेका थिए । कोलकातामा उनले ३०० क्लब खोलेका थिए । धनाढ्यहरुलाई लक्षित गरिएको क्लबमा नेपालका तत्कालीन राजा त्रिभुवनदेखि निर्वासित राणाहरु महावीर शमशेरदेखि सुवर्ण शमशेरसँग उनको मित्रता थियो । त्रिभुवनसँगको मित्रताकै कारण उनी नेपाल आएका थिए ।

अहिलेको निर्वाचन आयोग भएको भवनमा उक्त रोयल होटल खोलिएको थियो । त्यो होटल नेपालमा खोलिएको पर्यटन क्लासको पहिलो होटल मानिन्छ । नेपालमा आएका पहिला पुस्ताका पर्यटकहरु त्यही होटलमा बसेका थिए । त्यो समयमा न नेपालमा पर्यटन मन्त्रालय तथा पर्यटन बोर्ड नै बनेको थियो न त नेपाल संयुक्त राष्ट्रसंघको पर्यटन निकाय यूएनडब्लुटीओकै सदस्य भएको थियो । नेपालमा पर्यटन मन्त्रालय पहिलो पुस्ताका व्यवसायिक पर्यटकहरु आएको २३ वर्षपछि सन् १९७८ मा मात्रै बनेको थियो । पर्यटन बोर्डको स्थापना पहिलो व्यवसायिक पर्यटक आगमनको ४३ वर्षपछि मात्रै सन् १९९८ मा पर्यटन बोर्ड बनेको थियो भने यूएनडब्लुटीओको सदस्य २० वर्षपछि सन् १९७५ मा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *