परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको प्रेरणादायी भूमिका : प्रधानमन्त्री – Nepal Press

परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको प्रेरणादायी भूमिका : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना सन्देशमा प्रधानमन्त्रीले समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास जनाएका छन् ।

‘राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ । महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ’, प्रधानमन्त्रीले भनेका छन् ।

नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको उनले स्मरण गरेका छन् ।

‘लोकतन्त्र प्राप्तिका आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण सङ्घर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण सङ्घर्षको जगमा नै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ’, सन्देशमा भनिएको छ, ‘यो गौरवपूर्ण सङ्घर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर