मधेस नामकरण र राष्ट्रियसभामा जस्तै होला राष्ट्रपति चुनावमा फ्लोर क्रस ? – Nepal Press

मधेस नामकरण र राष्ट्रियसभामा जस्तै होला राष्ट्रपति चुनावमा फ्लोर क्रस ?

काठमाडौं । नेपालको राष्ट्रपतिमा तेस्रो अनुहार चुन्ने चुनाव हुन एक दिन बाँकी छ । मौन अवधि पनि जारी छ । राष्ट्रपतीय चुनावमा नेकपा एमाले र माओवादीले गएको पुस १० गते गरेको सम्झौताअनुसार भएन । एमालेले चाहेजस्तो सिफारिस गरेको उम्मेदवारलाई माओवादी समर्थन हुने वातावरण बनेन । न प्रचण्डले भन्दै आएको गैरदलीय र राष्ट्रिय सहमतिको उम्मेदवार नै राष्ट्रपति हुने वातावरण बन्यो ।

पुस १० गतेको एमाले-माओवादी सत्ता समीकरणमात्रै भत्केन, यसले राष्ट्रपतीय चुनावमा रामचन्द्र पौडेलको बलियो उम्मेदवारी प्रवेश भयो । प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ भतभार भएको राष्ट्रपतीय चुनावमा जनताको प्रत्यक्ष सहभागिता नहुने भएकाले यसले जनस्तरमा चर्चा पाएको छैन । तर, जनताबाटै चुनिएका प्रतिनिधिको मतभारबाट चुनिने भएकाले यसको चर्चा राम्रै छाएको छ ।

९ दलीय गठबन्धनको मतभारको आधारमा रामचन्द्र पौडेलको जीत निश्चित देखिन्छ । राष्ट्रपति बन्न आवश्यक मतभारभन्दा धेरै मत पौडेलको पक्षमा देखिन्छ । एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङको मतभार कम देखिन्छ । २७ हजार हाराहारी मतभार हुँदा राष्ट्रपति निर्वाचित हुन्छ । ९ दलको मतभार ३२ हजार बढी छ । नेम्बाङको पक्षमा १५ हजार बढी मतभार छ ।

प्रतिनिधिसभाका २७३, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० सांसदहरुको मतदानबाट हुने चुनावी परिणाम गणित जस्तै आउँछ वा आउन्न ? यो हेर्ने चुनावी नतिजा नै आउनुपर्ने हुन्छ । एमाले सांसदहरुले सत्ता गठबन्धन उम्मेदवारलाई वा गठबन्धनका सांसदहरुले एमाले उम्मेदवारलाई भोट क्रस गर्लान् वा नगर्लान् ? त्यो पनि नतिजा आएपछि मात्रै भन्न सकिनेछ ।

तर, यस अगाडिका दुई चुनाव हेर्दा जनप्रतिनिधिहरुको मतको फ्लोर क्रस भएका नजिर छन् । प्रदेश नामकरणदेखि राष्ट्रियसभा चुनावमा फ्लोर क्रस भएको थियो ।

कांग्रेस, एमाले र एसका सांसदको फ्लोर क्रसले बनेको मधेस प्रदेश

२०७८ माघ ३ गते प्रदेश नम्बर २ ले आफ्नो नाम मधेस प्रदेश बनायो । मधेस प्रदेश बनाउन प्रदेशसभामा आवश्यक दुईतिहाइ मत नभएका मधेसका दलहरुको मुद्दालाई कांग्रेस र एमालेका सांसदहरुले फ्लोर क्रस गरेर सहयोग गरेका थिए । १०४ संख्याको प्रदेशसभाको मतदानम ९९ जना सहभागी भएका थिए । जसमा ८० सांसदले मधेस प्रदेशको पक्षमा मतदान गरेका थिए ।

जबकि मधेस प्रदेशको पक्षमा खुलेका सांसद ६३ जनामात्रै थिए । जसमा जसपाका ३९, लोसपाका १६ र माओवादीका ८ थिए । दुईतिहाइ पुग्न सात मत अपुग थियो । तर, सातको सट्टामा १७ मत बढी आएर मधेस प्रदेश नामकरण हुन सक्यो ।

जसपा, लोसपा र माओवादी औपचारिक निर्णय गरेरै मधेस नाममा एक भएका थिए । नेपाली कांग्रेस, एमाले तथा नेकपा एसका सांसदहरु भने मधेसको पक्षमा थिएनन् । कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको थियो । एमाले र एसका सांसदहरु प्रदेशको नाम ‘जानकी’ राख्नुपर्नेमा एक ठाउँमा उभिएका थिए । तर, गोप्य भएको मतदानमा कांग्रेस, एमाले र एसका १७ सांसदले फ्लोर क्रस गरेका थिए । उनै १७ को फ्लोर क्रसको कारणले मधेस प्रदेश नामकरण भएको थियो ।

राष्ट्रियसभा चुनवामा कोशी प्रदेशको फ्लोर क्रस

नेकपा फुटेर एमाले, माओवादी र एस भएपछिको राष्ट्रियसभा चुनावमा एमालेले एक सीट पनि जित्ने अवस्थाको गणित थिएन । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसदले मतदान गर्ने राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए ।

२०७८ माघ १२ गते भएको चुनावमा शेर्पाले अप्रत्याशित जीत निकालेका थिए । शेर्पाको जीतमा कांग्रेस र माओवादीबाट फ्लोर क्रस भएको थियो । शेर्पाले ४ हजार ७३४ मतभार ल्याएका थिए । एमाले विपक्षको सत्ताधारी गठबन्धनका तर्फबाट उठाइएका साझा उम्मेदवार हेमराज राईले भने ४ हजार ३६८ मतभारमात्रै ल्याएका थिए । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १८ र प्रदेश सांसदको ४८ मतभार भएको चुनावमा शेर्पाले एमालेको आयतनभन्दा धेरै मतभार ल्याए ।

तर, सोही चुनावमा एमालेकै उम्मेदवार गुरु बरालको भने एमालेको चुनावी मतभारभन्दा थोरै मत आएको थियो । अर्थात् शेर्पालाई जिताउन कांग्रेस र माओवादीलगायतका जनप्रतिनिधिहरुले फ्लोर क्रस गरेका थिए । त्यस्तै बराललाई हराउन एमालेकै दुई प्रदेश सांसदबाट फ्लोर क्रस भएको थियो ।

प्रतिक्रिया

One thought on “मधेस नामकरण र राष्ट्रियसभामा जस्तै होला राष्ट्रपति चुनावमा फ्लोर क्रस ?

  1. १७००० रे ले राष्ट्रिय सहमति भनेको काँग्रेसको लठैतलाई उम्मेद्वार बनाउने भनेको रहेछ । यत्रो नौटंकी गर्नु थियो त किन पुस १० मा ओलिको पाउमा पर्न गएको ? वेश्यावृत्तिमा लागेकाहरूको पनि न्यूनतम इमानजमान भन्ने हुन्छ । त्यति पनि इमान जमान नभएको व्यक्ति यो देशको प्रधानमन्त्री छ । अनि मेरो देश बेचिदैन भनेर के ग्यारेण्टी ? पद पाए जे पनि गर्न, जे पनि बोल्न तयार हुने यस्ता अनैतिक, दलाललाई पदबाट छिटोभन्दा छिटो हटाएर जनतालाई शान्ति देउ । यसलाई कानूनी कारवाहीको भागिदार बनाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर