कर्णालीका पाँच जिल्लाका नौ स्वास्थ्य भवन अलपत्र – Nepal Press

कर्णालीका पाँच जिल्लाका नौ स्वास्थ्य भवन अलपत्र

सुर्खेत । कर्णाली प्रदेशमा नौ वटा स्वास्थ्य भवन निर्माणमा ढिलाइ भएको छ । एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ठेक्कामा रहेका सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका स्वास्थ्य भवन निर्माणमा ढिलाइ भएको हो ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले कर्णालीका पाँच जिल्लामा भवन निर्माण गर्दै आएको छ । जसमा सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानका भवन रहेका छन् ।

सङ्घीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर कमल दर्लामीले योजनाको काम भइरहे पनि सुस्त रहेको जानकारी दिए । ‘ठेकेदारले जुन गतिमा काम गर्नुपर्थ्यो त्यो हुन् नसकेको छैन । हामीले बारम्बार भनिरहेका छौं, पत्रहरूमार्फत उहाँहरूलाई निर्देशन गरिरहेका छौं’, उनले भने ।

उनका अनुसार सुर्खेतको निर्माणाधीन हेल्थपोस्ट भवनको हालसम्मको प्रगतिमा भौतिकतर्फ ७० र वित्तीयतर्फ २० प्रतिशत रहेको छ । २०६७ असार १६ गते सम्झौता भएको उक्त भवन निर्माण सकेर २०७० पुस २२ गते हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर, हालसम्म निर्माण पूरा भएको छैन । हाल निर्माण नै रोकिएको छ । सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

यस्तै रुरल फार्मेसी भवन निर्माण, भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेतको विनियोजन बजेट १ करोड ३१ लाख ७५ हजार रहेको छ । यसको २०७८ असार २८ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ मङ्सिर २८ गते निर्माण सम्पन्न हुनुपर्‍थ्यो । यसको हालसम्मको भौतिकतर्फ ७० प्रतिशत र वित्तीयतर्फ ४५ प्रतिशत प्रगति भएको छ ।

जाजरकोटमा प्रसूति कोठा निर्माण, सिमाराक्मा हेल्थपोस्ट योजनाको कार्यको सम्झौता २०६७ असार १ गते भएको थियो । यो २०७० चैत ३० गते निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर, हालसम्मको प्रगतिमा भौतिकतर्फ ७० र वित्तीयतर्फ १० प्रतिशत भएको छ । उक्त योजनाको विनियोजित बजेट ३६ लाख ४७ हजार रहेको छ ।

इलेक्ट्रिकल, स्यानेटरी तथा फिनिसिङको कार्य बाँकी रहेको उक्त उक्त ठेक्का तोड्ने प्रक्रियामा रहेको बुझिएको छ ।

त्यस्तै ५० शय्या क्षमताको जाजरकोट जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । जसमा भौतिकतर्फ ८५ र वित्तीयतर्फ ८० प्रतिशत प्रगति भएको छ । उक्त योजनाको बजेट १२ करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ । सो योजनाको २०७७ असार २६ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ पुस २५ गते निर्माण सम्पन्न हुनुपर्ने थियो ।

जाजरकोटको स्वास्थ्य चौकी भवन निर्माण, मझकोट बढकुले स्वास्थ्य चौकीको ठेक्का सम्झौता २०६९ वैशाख २१ गते भएको थियो । उक्त योजना २०७० कात्तिक ६ गते निर्माण कार्य सकेर हस्तान्तरण गर्नुपर्ने थियो । तर, हाल उक्त योजनको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति १० प्रतिशतमात्रै भएको छ ।

हाल निर्माण कार्य स्थगन रहेको उक्त ठेक्का पनि तोड्ने प्रक्रियामा रहेको छ ।

यस्तै सुर्खेतको अवलचिङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण ठेक्का तोडेपश्चात बाँकी रहेको कार्य गर्न २०७८ असार ३ गते पुनः सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार २०७९ पुस ३ गते कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । यसको हालसम्म भौतिक प्रगतिमा ५५ प्रतिशत र वित्तीयतर्फ ४२ प्रतिशत रहेको छ ।

सुर्खेतको १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्यको हालसम्म भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगति १७ प्रतिशतमात्रै भएको छ । २०७८ साल असार ३ गते सम्झौता भएको उक्त योजना २०७९ चैत ३ गते सम्पन्न गरिसक्नु पर्नेछ ।

सुर्खेतको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको काम पनि सुस्त देखिएको छ । यो योजना २०७८ असार २९ गते सम्झौता भएको थियो । २०७९ पुस २८ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने उक्त योजनाको भौतिक प्रगति २५ र वित्तीय १८ प्रतिशत प्रगति भएको छ ।

सुर्खेतको मेडिकल स्टोर योजनाको सम्झौता २०७८ असोज २४ गते भएको थियो । २०७९ चैत २४ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने उक्त योजनाका हाससम्म भौतिकतर्फ २० र वित्तीयतर्फ १९ प्रतिशत प्रगति भएको छ ।

निर्माण कम्पनीको लापरबाहीले निमार्णधीन स्वास्थ्य भवनहरू अधुरो रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *