प्रचण्डलाई जनतासँग माफी माग्न कमल थापाको सुझाव, भाटे कारबाहीको त्रास नदेखाउन आग्रह – Nepal Press

प्रचण्डलाई जनतासँग माफी माग्न कमल थापाको सुझाव, भाटे कारबाहीको त्रास नदेखाउन आग्रह

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार र तत्कालीन माओवादीबीच भएको शान्ति सम्झौतालाई विवादास्पद दस्तावेजको संज्ञा दिएका छन् । त्यसबेला कायम रहेको राज्यसत्ताको अंग राजसंस्थालाई सम्झौता गर्दा कहीँकतै संलग्न नगराइएको उनको भनाइ छ ।

शान्ति सम्झौतालाई नै आधार मान्दा पनि यसले गम्भीर मानवताविरोधी अपराधलाई उन्मुक्ति नदिएको टिप्पणी थापाले गरेका छन् । द्वन्द्वकालमा दुवै पक्षबाट ज्यादती भएको भन्दै उनले त्यही कारण ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’को व्यवस्था भएको उल्लेख गरेका छन् ।

‘गत १५ वर्षमा ४ पटक माओवादीको नेतृत्वमा सरकार बन्यो, केही अपवादबाहेक प्रायः सबै सरकारमा माओवादी सहभागी भयो । तर, सत्यनिरुपण गर्ने र अपराधीलाई कठघरामा उभ्याउने काम कसैबाट भएन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

माओवादीबाट विनाकारण मारिएकाहरुको सयौँ परिवारले अझै न्याय नपाएको र माओवादी नेतृत्वले क्षमायाचनासमेत नगरेको थापाको टिप्पणी छ ।

उनी थप्छन्ः

राज्यपक्षबाट भएको भनिएको हत्या र बेपत्ता पारिएका माओवादीका परिवारले पनि न्याय पाएका छैनन् । यो अवस्थामा पिडित पक्षले न्यायको लागि अदालत गुहार्नु अन्यथा होइन ।

अवसर पाउँदा सत्ता सुखसयलमा रमाउने अनि कसैले न्याय पाउँ भनेर आवाज उठाउँदा आक्रोशित हुने र अझै ‘भाटे कारबाही’ को त्रास देखाउनु सर्वथा उचित होइन । सेटिङ र दलहरुको प्रभावमा परेको न्यायालयबाट न्याय पाइन्छ भन्ने विश्वास पनि मर्दै गएको छ । विगतका अनुभवले त्यही भन्छ ।

अहिले स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ । आफैं सरकार, आफैं विद्रोही नेता हुनुहुन्छ । साहस देखाउनुहोस् । विगतमा भएका मानवताविरोधी अपराधको निम्ति आमजनता र विशेषगरी पीडित परिवारसँग माफी माग्नुहोस् । निष्पक्ष र विश्वसनीय व्यक्तिहरु संलग्न रहेको ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ गठन गर्नुहोस् ।

द्वन्द्वकालमा भएका सबै समस्याहरुको स्थायी समाधान गर्नुहोस् । जालझेल नगर्नुहोस् । यो प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निम्ति महत्वपूर्ण अवसर हो । सायद यसपछि मौका नआउन पनि सक्छ ।

अन्यथा, बाबुराम भट्टराईले द्वन्द्वको घाउ नउप्काउ भनेर जतिसुकै कराए पनि, यो घाउ बेला बेला बल्झिरहन्छ । मानवताविरोधी अपराधमा मृत्युपछि पनि सजाय भएको र पीडितलाई न्याय र राहत दिएको विश्वमा थुप्रै उदाहरण छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर