माओवादी घटकको निष्कर्ष- प्रचण्डविरुद्धको मुद्दा षड्यन्त्रमुलक – Nepal Press

माओवादी घटकको निष्कर्ष- प्रचण्डविरुद्धको मुद्दा षड्यन्त्रमुलक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध ल्याइएको मुद्दा षड्यन्त्रमुलक ढंगबाट ल्याएको माओवादी घटकले निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बिहान बसेको माओवादी घटकका ८ दलको बैठकले यो मुद्दा प्रचण्डविरुद्ध मात्रै ल्याएको नभएको निष्कर्ष निकालेको हो ।

अहिले अदालतमा दर्ता भएको मुद्दा प्रचण्डविरुद्ध मात्रै नभएको बैठकले निष्कर्ष निकालेको नेकपा बहुमतको नेता हेमन्त प्रकाश वली बताए ।

उनले नेपाल प्रेससँग भने, ‘यो मुद्दा जुन षड्यन्त्रको साथ आएको छ । अहिले प्रचण्डजीविरुद्ध भएको मुद्दा शान्ति सम्झौता विपरीत भयो । त्यसकारण संक्रमणकालीन मुद्दा सत्य निरुपण मेलमिलाप आयोगबाट समस्याको समाधान गर्नुपर्नेमा अदालतमार्फत् अघि बढाउन खोजेको छ। हामी त्यसका विरुद्ध एकजुट छौं ।’

द्वन्द्वकालीन मुद्दा अदालतमा जानु गलत भएको उनको भनाइ छ ।

उनले भने, ‘यो विशुद्ध उहाँ (प्रचण्ड)माथि मात्रै भएन। समग्र माओवादी आन्दोलनकै समस्या भयो। भन्नेखालको बिहानको बैठकमा पनि कुरा भएको छ ।’

बालुवाटार बैठकमा प्रचण्डसहित नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली सहभागी थिए ।

यस्तै, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी, र माओवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल सहभागी थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर