घट्यो ऋणको ब्याजदर, कसले कति घटाए ?
काठमाडौं । वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ ।
सानिमा बैंकले आधारदरमा लिने गरेको अतिरिक्त प्रिमियममा २ प्रतिशतसम्म घटाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब ४ प्रतिशतभन्दा बढी नलिने गरी व्यवस्था गरिएको बताए ।
‘जुन खालको ऋणमा ६ प्रतिशत प्रिमियम थियो । त्यसमा २ प्रतिशत घटेको छ । ५ प्रतिशत भएकोमा १ प्रतिशत घटेको छ र ४.५ प्रतिशत प्रिमियम भएकोमा ०.५ प्रतिशतले घटेको छ’, उनले भने ।
प्रिमियमसँगै ऋणको ब्याजदर पनि केही घटेको छ । अहिले सानिमा बैंकको आधारदर माघ मसान्तसम्मको तथ्यांकअनुसार १०.८५ प्रतिशतसम्म छ । यस आधारमा ४ प्रतिशत प्रिमियम थप्दा बैंकको अधिकतम ब्याजदर १४.८५ प्रतिशतसम्म हुन आउँछ ।
सिटिजन्स बैंकले पनि प्रिमियम घटाएको छ । बैंकका प्रवक्ता नारायण अधिकारीले प्रिमियम घटेको जानकारी दिए ।
सिटिजन्सले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिँदै आएको थियो । उसको आधारदर ११.३९ प्रतिशत छ । उसले २ प्रतिशतसम्म प्रिमियम घटाएको जनाएको छ ।
त्यस्तै एभरेष्ट बैंकले १ प्रतिशत प्रिमियम घटाएको छ । उसले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिँदै आएको थियो । एभरेष्टको आधारदर ९.८६ प्रतिशत छ ।
बैंकहरुले प्रिमियम घटाएसँगै ब्याजदर पनि घट्ने संकेत दिएका छन् । प्रिमियम घटाएका बैंकहरुले ऋणीलाई ब्याजदर घटेको जानकारी दिएका छन् ।
पहिला ८% ब्याज लिने ब्यबस्था थियो ,अहिले बढाएर १८% पुर्याउने काम भयो ,रिणिले बैंकको पैसा फिर्ता नगर्ने गरि अान्दाेलित भए पछि २1/2% घटाउनु खासै ठूलो राहत दिएको हैन,यदि नागरिककाे समस्या बुझेर राहत दिने भए उसको अवस्था हेरेर उसको अाएश्राेत हेरेर ब्याजदरकाे निर्धारण गर्नु राम्रो हुने छ।बिदेशी ठूलाठूला ब्यापारी हरु संग यो अहिले लिदै गरेको १८/१९% ब्याज दबाएर लिदा हुन्छ तर नेपाली नागरिक यदि कमजोर अवस्था बाट गुज्रिएको छ भने कमसेकम तेसलाइ केही राहत दिनुपर्छ।
ब्याज दर बडाउदा सिदै 5%ले बडौने घटाउदा 2% यो न्यायोचित भएन