हँसाउने नाममा माग्ने बुढा र किरण केसीको महिला कलाकारमाथि ‘अपाच्य’ ठट्टा (भिडिओ) – Nepal Press

हँसाउने नाममा माग्ने बुढा र किरण केसीको महिला कलाकारमाथि ‘अपाच्य’ ठट्टा (भिडिओ)

काठमाडौं । हिजो होलिको दिन काठमाडौंको नयाँ बानेश्वरमा एउटा हास्यव्यंग्य कार्यक्रम राखिएको थियो- चलचित्र छक्कापञ्जा-४ का नाममा । सडकमै स्टेज बनाएर गरिएको निशूल्क कार्यक्रममा दर्शकको राम्रै भिड जम्मा भएको थियो । तर, बिना कुनै तयारी स्टेजमा आएका कलाकारहरुले दर्शक हँसाउने नाममा बेतुकका कुराकानी मात्र गरेनन्, द्वीअर्थी र अपाच्य संवादहरु पनि बोले ।

छक्का पञ्जा ४ को प्रमोसनका लागि रेडियो अडियोले आयोजना गरिदिएको कार्यक्रममा सोही चलचित्रका कलाकारको बाहुल्य थियो । दिपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), किरण केसी (रातामकै), बेनिशा हमाल, राधिका कँडेल लगायतका कलाकारहरु दर्शकलाई मनोरञ्जन दिन आएका थिए । तर, उनीहरुसँग कुनै स्क्रिप्ट थिएन । जे-जे मुखमा आउँछ त्यही फलाकिरहेका थिए । माग्नेबुढा र किरण केसीले महिला कलाकारहरुमाथि भद्दा मजाक गरे ।

राधिका कँडेलको पाखुरामा च्याप्प समाएर माग्नेबुढा भन्दैथिए, ‘हामीलाई त माथिको गालामा रंग लगाइदिएका थिए, (पछाडि फर्काउँदै) यिनको त तलको गालामा लगाइदिएछन् ।’

कार्यक्रम उद्घोषकले यसमा थपे, ‘त्यो त पाइन्टको गाला हो, हाहाहा… ।’

माग्नेबुढाको यो ‘जोक’मा राधिकाको रियाक्सन भने अगाडिबाट देखिएन, किनकी उनी पछाडि फर्किएकी थिइन् ।

राधिकापछि माग्नेबुढाले छक्कापञ्जाकी नायिका बेनिशा हमाललाई अगाडि ताने । उनलाई पनि पाखुरामा समातेर उस्तै भद्दा संवाद बोले– ‘बेनिशा हमाल, तल्तिर कमाल ।’
बेनिशाले तल छोटो लुगा लगाएकी थिइन् । माग्नेबुढाको आँखा त्यसैमा मात्र केन्द्रीत थियो ।

बेनिशाको खुट्टामा नजर डुलाउँदै उनले भने, ‘तलबाट बतास आयो भने त उडाएर लान्छ नि । मान्छे अनामनगर, लुगा कोटेश्वर होला ।’
बेनिशाले हाँस्दै सोधिन्, ‘रोस्ट गर्न बोलाएको हो यहाँ ?’ अनि भनिन् ‘ह्याप्पी होली सबैलाई…’

माग्ने बुढाले फेरि थपे, ‘ह्याप्पी होली, खोइ त चोली ?’

कार्यक्रममा उपस्थित अर्का कलाकार किरण केसीले चाहीँ दिपाश्री निरौलालाई निशाना बनाए । राधिकाले उनलाई सोधेकी थिइन्, ‘तपाईंले कुनै हिरोइनसँग विवाह गर्ने मौका मिल्यो भने कोसित गर्नुहुन्थ्यो होला ?’

किरणले जवाफ दिए, ‘म पनि मोटे छु । उनी पनि माेटी छन् । हिरोइन पनि हुन् । बाहिर त मैले बहिनी भन्ने गरेको छु । पाएसम्म दिपाश्रीलाई बिहे गर्छु । नेपालमा बहिनी भन्दै लभ गर्ने चलन छ नि ।’

दिपाश्रीलाई अंगाल्दै थपे, ‘अहिलेसम्म च्वाँक पनि छिन्, भर्जिन पनि छिन्… भर्जिन त कोनी । घिउँ कहाँ पोखियो, दालमा पोखियो…’ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै किरणले दिपा आफ्नो एउटै आमाको भुँडीबाट जन्मेको बहिनीसरह भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *