सरकारसँग प्रधानमन्त्री प्रचण्डको ‘जोडदार माग’- शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाइयोस् (भिडिओ) – Nepal Press

सरकारसँग प्रधानमन्त्री प्रचण्डको ‘जोडदार माग’- शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाइयोस् (भिडिओ)

राज्यसँग विभिन्न समयमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसहित ८ पूर्व माओवादी भँगालोका नेताको माग

काठमाडौं । प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिट दर्ता गर्न सर्वोच्चमा आदेश दिइएसँगै माओवादी वृत्तमा तरंग छाएको छ ।

पछिल्लो समय विभिन्न समूहमा छिन्नभिन्न भएका माओवादी नेताहरू विकसित राजनीतिक घटनाक्रमसँगै एकस्वर गरिरहेका छन् । त्यसैअनुरुप आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी घटकका ८ दल भेला भए । उक्त बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिको एकमतले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकले राज्यसँग विभिन्न समयमा भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिएको छ । बैठकपछि ८ नेताको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकारसँग माग गरिएको छ । जबकि हस्ताक्षरकर्तामध्येका एक प्रचण्ड स्वयं अहिले प्रधानमन्त्रीको कुर्सीमा छन् । वक्तव्यमा पनि प्रचण्डले प्रधानमन्त्रीकै हैसियतमा हस्ताक्षर गरेका छन् । शान्ति प्रक्रियापश्चात प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

‘संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ‘, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेसपाका डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, संयोजक, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी, र माओवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले संयुक्त हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर