सन्दीप र मुस्तफाबीच मैदानमा नोकझोक, खेलपछि अंकमाल – Nepal Press

सन्दीप र मुस्तफाबीच मैदानमा नोकझोक, खेलपछि अंकमाल

मुस्तफाले भने- नेपालीहरूबाट एकसाथ ‘हेट म्यासेज’ र ‘लभ म्यासेज’ पाइरहेको छु

काठमाडौं । क्रिकेटमा दुई टिमका खेलाडीहरुबीच कहिलेकाहीँ व्यक्तिगत टकराबका दृश्यहरू देखिन्छन् । कठिन प्रतिस्पर्धात्मक म्याचमा एक–अर्को टिमलाई हतोत्साही तुल्याउन खेलाडीहरूले पनि क्षणिक आवेश वा उत्तेजना देखाउने गर्छन् । नेपाल र यूएईबीच हिजो भएको खेलमा यस्तै दृश्य देखियो ।

ब्याटिङका लागि क्रिजमा थिए यूएईका अलराउन्डर रोहन मुस्तफा र बलिङमा थिए नेपाली स्टार सन्दीप लामिछाने । यी दुई खेलाडीहरूले थुप्रै अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा एकसाथ खेलेका छन् । रोहनले नेपालका टी–२० लिगहरू पनि खेलेकाले नेपाली समर्थकमाझ उनी परिचित नाम हुन् ।

हिजोको खेल निकै रोमाञ्चक मोडमा रहेका बेला ३५ औँ ओभरको तेस्रो बलमा सन्दीपले रोहनविरुद्ध एलबीडब्लुको कडा अपिल गरेका थिए । तर, अम्पायरले स्वीकारेनन् ।

त्यसलगत्तैको चौथो बलमा रोहनले सन्दीपमाथि आक्रोश पोख्दै केही शब्द भनेपछि सन्दीप पनि नजिकै आएर उनलाई जवाफ फर्काएको लाइभ भिडियोमा देखिएको थियो । उनीहरुबीच के कस्ता शब्द आदानप्रदान भयो भन्ने चाहिँ खुलेको छैन । तर, दुवै आक्रोशित मुद्रामा थिए ।

म्याचको त्यस मोडमा रोहनको विकेट नेपालका लागि एकदमै महत्त्वपूर्ण थियो । नेपालविरुद्धको अघिल्लो म्याचमा पनि रोहनले नै टिमको उद्धार गरेका थिए । त्यसैले सन्दीप उनको विकेट लिने व्यग्रता सन्दीपलाई थियो । यता, रोहन पनि सन्दीपको कडा अपिलबाट आत्तिएका थिए ।

सम्भवतः त्यसैको रिस उनले पोखेका हुन् ।

तर, यो दुवै जनाको क्षणिक आक्रोश मात्रै थियो भन्ने म्याचपछिको दृश्यबाट थाहा हुन्छ । खेलपछि दुवै टिमका खेलाडीहरूले एक आपसमा हात मिलाउँदै जाँदा रोहन र सन्दीपले भने अंकमाल नै गरेका थिए । यसको अर्थ उनीहरू म्याचको दौरान भएको नोकझोकलाई सामान्य रूपमा लिएका छन् ।

तर, आफ्नो टिमका खेलाडीमाथि रोहनले आक्रोश देखाउँदा केही नेपाली समर्थकहरू भने उनीसँग भड्किए । कतिले सामाजिक सञ्जालमा रोहनलाई ट्याग गर्दै नकारात्मक टिप्पणीहरू पनि गरेका छन् । यस विषयमा रोहनले आज एउटा स्टाटस लेखेका छन् । नेपाली समर्थकहरूबाट आफूले ‘हेट म्यासेज’ पाइरहेको तर, त्योभन्दा बढी लभ म्यासेज पाएको उनको भनाइ छ ।

‘तपाईँहरूले मलाई माया गर्नुस् वा घृणा, म तपाईंहरुलाई सधैँ माया नै गरिरहनेछु,’ उनले भनेका छन् ।

यूएई टिम अब लिग २ को अन्तिम सिरिजका लागि नेपाल आउँदैछ । यूएई, पीएनजी र नेपालबीचको शृङ्खला बिहीबारबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर